सोमबार, ०८ पुस २०८१

नेपालमा दैनिक १ सय १७ जना पक्राउ पर्छन


काठमाडौँ, ४ पुस । नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना दिन दिन बढ्दै गएकाे देखाएको छ । 

हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रहरी प्रधान कार्यालयमा सञ्चारकर्मीहरूसँग साक्षात्कारका क्रममा नेपालमा अपराधका घटनाकाे ग्राफ बढेकाे जानकारी दिए ।

वरिष्ठ उपरीक्षक अधिकारीका अनुसार आर्थिक वर्ष २०८१/०८२ को चार महिनाको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू जानकारी गराउँदै आपराधिक घटनाका दैनिक एक सय ६२ वटा मुद्दा दर्ता हुने गरेको जानकारी दिए । ती घटनाहरूमा दैनिक एक सय १७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको उनले जानकारी दिए ।  

वरिष्ठ उपरीक्षक अधिकारीका अनुसार कर्तव्य ज्यानमा गत वर्षको चार महिनामा एक सय ९३ घटना रहेकामा र अहिले सोही अवधिमा एक सय ९२ घटना भएको छ । सङ्गठित अपराधमा मुद्दा बढेको पाइएको छ । सङ्गठित अपराधमा गत वर्ष पाँच रहेकामा अहिले सोही चार महिनाको अवधिमा ३९ वटा मुद्दा दर्ता भएको छ । 

जबर्जस्ती करणीमा गत वर्षको चार महिनामा आठ सय नौ वटा रहेकामा यस वर्ष आठ सय २३ वटा मुद्दा दर्ता गरिएको वरिष्ठ उपरीक्षक अधिकारीले जानकारी दिए । उनले कर्तव्य ज्यानतर्फ सबैभन्दा बढी कोशी प्रदेशमा २३ दशमलव ९५ र कर्णालीमा जम्मा छ वटा मुद्दा ३ दशमलव २५ प्रतिशत दर्ता भएको जानकारी दिए। आत्महत्यामा पनि कोसीमा बढी र कर्णालीमा कम रहेको उनकाे भनाई छ। 

जबर्जस्ती करणीमा सबैभन्दा बढी कोसीमा र सबैभन्दा कम गण्डकीमा घटना घटेको जानकारी दिँदै वरिष्ठ उपरीक्षक अधिकारीले करणी उद्योगमा पनि कोसीमा बढी भएको बताए ।  बैंकिङ कसुरका घटना बढेको र उपत्यकामा मात्रै ५७ दशमलव ७७ प्रतिशत घटना दर्ता भएको जानकारी दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले अपराधमा वृद्धि भएको तथ्याङ्कले देखाएको बताए। प्रविधिको बढ्दो दुरूपयोगबाट सिर्जित अपराधहरू चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले विद्यमान स्रोतसाधनको उच्चतम प्रयोग गरी त्यस्ता अपराध नियन्त्रणमा प्रहरी क्रियाशील रहेको जानकारी दिए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ