बुधबार, १७ पुस २०८१

नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा, २२ कराेड विगाे


काठमाडौं, १४ पुस । काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेल साथै पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । घुस तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा बस्नेतसँग २२ करोडभन्दा बढी बिगो दाबी गरिएको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित बस्नेत नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति समेत छन् । प्रमुख बस्नेतले आफ्नो श्रीमतीकाे मिलोमतो तथा योजनामा नगर प्रमुखको पद तथा ओहोदाको दुरुपयोग गरी नगरपालिकामै कार्यक्षेत्र रहेको घर जग्गा व्यवसायी पद्मा कोलोनी प्राली, पद्मा मर्चेन्ट कम्पनी प्रालि, जगतगुरु कृपालु प्रतिष्ठान नेपालका सञ्चालक एवम अध्यक्ष कडेँलबाट घुस लिने मनसायले प्रतिष्ठानलाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको तथा दिन लगाएको पाइएको छ ।

यस्तै, प्रतिष्ठानलाई व्यक्ति तथा संघ संस्थाबाट विदेशी सहायक ७ अर्ब ४८ करोड प्राप्त गर्न सहमति दिन लगाएको, उक्त प्रतिष्ठानको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट हुने पत्राचार समेत आफ्नै दस्तखतबाट गराएर उक्त प्रतिष्ठानको ख्यातीमा वृद्धि गरेको अख्तियारले जनाएकाे छ ।

साथै प्रतिष्ठानले नागार्जुन नगरपालिका भित्र मन्दिर निर्माण गर्ने भन्दै विभिन्न जग्गा कडेँले तथा उनको कम्पनीलाई उपलब्ध गराउने गरी सम्झौता गराएको र सोहि सम्झौता समेत कार्यान्व्यन गर्न गराउन जग्गा धनीलाई गफलतमा पारेर जग्गाधनीसँग सम्झौता गराई विभिन्न जग्गा नगर प्रमुख बस्नतेले ३ करोड ७२ हजार रकम जग्गा धनीलाई भुक्तानी दिएर प्रतिष्ठानले निर्माण गर्ने मन्दिरको लागि जग्गा लिने भनी बैनाबट्टा समेत गराएको भेटिएको छ ।

बजर मूल्य ४७ करोड ७५ लाख भएको विभिन्न जग्गा पद्मा कोलोनी प्रालीले जग्गाधनीलाई जम्मा १८ करोड ९४ लाख १८ हजार ४४८ भुक्तानी दिएको, राजस्व र बैनाबट्टा रकम समेत गरी जम्मा २३ करोड २२ लाख २७ हजार भुक्तानी गरी विभिन्न जग्गा बजार मूल्य भन्दा करिव २४ करोड ५२ लाख ७३ हजार कम मूल्यमा कडेँल तथा उनको कम्पनीले प्राप्त गरेको तथा गराएको पाइएको छ ।

प्रमुख बस्नेले श्रीमतीसँगको मिलोमतो तथा योजनामा नगर प्रमुखको ओहोदाको गरिदिए वापत बैंक खातामार्फत २ करोड १५ लाख ७३ हजार ३९५, ६ करोड ८२ लाख मुल्य बराबरको जग्गा र कडेँललाई शंकर होटलमा भुक्तानी गर्न लगाएको बैवाहिक भोज गर्दाको खर्च २४ लाख ७२ हजार ६३७ समेत गरेर ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ बराबर घुस बस्नेत र उनकी श्रीमतीले पद्मा कोलोनी प्राली, पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा कम्पनीका सञ्चालक कडेँलबाट लिएको पुष्टि भएको छ ।

यस्तै, बस्नेतले उक्त घुस लिएको भ्रष्टाचारजन्य कसूर गरी आर्जन गरेको ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ सम्पत्तीको गैरकानूनी स्रोत लुकाउने छल्ने उद्देश्यले उनीहरुले आपसी मिलेमतो र योजनामा उक्त सम्पत्ति ऋण भुक्तानी, प्रमुख बस्नेतकी श्रीमतीको नाममा रहेको जग्गामा घर निर्माण, विभिन्न व्यक्तिलाई भुक्तानी समेत गराएर सम्पत्तिको गैरकानूनी स्रोत लुकाउने, रुपान्तरण तथा हस्तान्तरण गर्ने कार्य गरेको भन्दै १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँको सम्पत्ती सुद्धीकरण गरेको भन्दै उक्त रकम बराबरको माग दाबी सहित विशेष अदालतमा मुद्दा दायर भएको हो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ