सोमबार, ०८ वैशाख २०८२

९ महिनामा साढे ६२ अर्बभन्दा बढीको भटमासको तेल निर्यात


काठमाडौँ । नेपालले निर्यात गर्ने वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको देखिएको छ ।

नेपालको आफ्नै उत्पादन नभई विदेशबाट अर्धप्रशोधित भटमास तेल (क्रुड सोयाबिन आयल) आयात गरेर प्रशोधित तेलका रुपमा निर्यात हुने गरेको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको नौ महिनामा नेपालले कुल रू एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार बराबरको सामान निर्यात गरेको छ । यो अवधिमा भटमासको तेल मात्रै रू ६२ अर्ब ७८ करोड २३ लाख ३० हजार बराबरको निर्यात भएको छ । अर्थात् नेपालले गर्ने कुल निर्यात रकमको एक तिहाई भटमास तेलको निर्यातबाट आइरहेको छ । 

त्यस्तै, अहिले नेपालले बढी निर्यात गरेका वस्तुको दोस्रो स्थानमा सूर्यमुखी तेल छ । नौ महिनामा रू नौ अर्ब २३ करोड २७ लाख ६० हजार बराबरको सूर्यमुखी तेल निर्यात भएको छ । यसमा पनि अर्धप्रशोधित सुर्यमुखी तेल आयात गरेर त्यसलाई प्रशोधन गरी भारत निर्यात गर्छ ।

भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीका अनुसार दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) को सुविधाका रुपमा नेपालका व्यवसायीहरुले खानेतेलमा एक तहको प्रशोधन र मूल्य अभिवृद्धि गरी लाभ पाएका छन् ।

“यसमा हाम्रा छिमेकी देशहरुले अरु मुलुकहरुबाट आयात गर्दा कति भन्सार महशुल लाग्छ भन्ने कुराले अर्थ राख्छ । साफ्टा सुविधाअन्तर्गत भारतले नेपाललाई भन्सार छुट सुविधा उपलब्ध गराइरहेकोमा त्यसलाई नेपाली व्यवसायीले अवसरको रुपमा लिए”, उनले भने । 

भारतले तेस्रो मुलुकबाट आयात गर्ने तेलमा बढी भन्सार लाग्ने तर नेपालले साफ्टा सुविधाअन्तर्गत भन्सार छुट पाउने भएका कारण सस्तो मूल्यमा तेल निर्यात गर्न सम्भव भएको हो ।

विगतमा पाम तेलको निर्यात सबैभन्दा बढी हुने गरेको थियो । तर २०७७ पुसमा नेपालबाट हुने पाम तेल निर्यातमा भारतले कडाइ गरेको थियो । त्यसयता भटमासको तेलको निर्यात बढ्दै गएको देखिन्छ ।

प्रशोधित तेलको निर्यात बढेसँगै नेपालको समग्र निर्यातको अङ्कसमेत बढेको देखिएको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मात्र निर्यात ६५ दशमलव १६ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्मको कूल निर्यात रू एक खर्ब १३ अर्ब ९४ करोड बराबर थियो । जबकि चालु आर्थिक वर्षको सोहि अवधिमा रू एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख बराबर पुगेको छ ।

नेपालले निर्यात बढी गरेको अन्य वस्तुहरुमा कार्पेट, धागो, चियालगायत छन् । यो अवधिमा कार्पेट रू आठ अर्ब नौ करोड ७५ लाख ३५ हजार बराबरको निर्यात भएको छ भने अलैँची रू छ अर्ब २६ करोड नौ लाख बराबरको निर्यात भएको छ ।

चालु आवको तेस्रो त्रैमाससम्ममा मुलुकले कुल रू १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाखको वैदेशिक व्यापारमा रू ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाखको घाटा व्यहारेको छ । यो अवधिको कुल वस्तु निर्यात रू १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख बराबरको छ ।

नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ शीर्ष स्थानमा छ । पछिल्लो नौ महिनामा रू ९१ अर्ब २६ करोड तीन लाख बराबरको डिजेल रु ४७ अर्ब ७७ करोड ६४ लाख बराबरको पेट्रोल र रू ४६ अर्ब ५८ करोड ७० लाख बराबरको एलपी ग्यास आयात गरेको छ ।

त्यस्तै, नेपालले बढी आयात गर्ने वस्तुहरुमा पनि कच्चा (क्रुड) भटमास तेल र कच्चा सूर्यमुखी तेल पनि पर्दछन् । गत साउन देखि चैत मसान्तसम्ममा रू ६६ अर्ब पाँच करोड बराबरको अर्धप्रशोधित सोयाबिन तेल र रू २२ अर्ब ६४ करोड बराबरको अर्धप्रशोधित सनफ्लावर तेल आयात भएको छ ।

नेपालले बढी आयात गर्ने अन्य वस्तुहरुमा फलाम तथा फलामजन्य वस्तु, स्मार्टफोन, सुन, विद्युतीय सवारी साधनलगायत छन् । नौ महिनामा रू ३७ अर्ब ८९ करोड बराबरको फलाम तथा फलामजन्य वस्तु, रू २५ अर्ब ३८ करोड बराबरको स्मार्टफोन र रू १० अर्ब ९४ करोड ७९ लाख बराबरको विद्युतीय सवारीसाधन आयात भएको हो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ