- असार ०७, २०८०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणका करारका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्राधिकरणको जिल्ला आयुक्तको कार्यालय, काठमाडौँद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेश प्रसाद यादवविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दामा दायर गरेको हो ।
यादवको २०६३ भदौ ८ गतेदेखि २०८१ असार ३० गतेसम्मको सम्पत्ति र आय–व्ययको अनुसन्धान गर्दा वैध आम्दानीको तुलनामा ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ २१ पैसाको स्रोत नखुलेको भेटिएपछि गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले मुद्दा चलाएको हो ।
यादवले तलबी, भत्ता, नागरिक लगानी कोष, आवास कर्जा, कृषि आम्दानी, सवारी र अचल सम्पत्ति बिक्री, सापटी तथा बैंकको ब्याजबाट कुल २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसाको वैध आय गरेको देखिएको छ । सोही अवधिमा उनले घर निर्माण, गहना, जग्गा खरिद, सवारी साधन, शैक्षिक खर्च, ऋण सापटी, सामाजिक खर्चलगायत शीर्षकमा कुल ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसाको खर्च गरेको देखिएको अख्तियारले जनाएको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसारको कसुरमा दोषी किटान गरी दफा २०(२) बमोजिम सजाय माग गरेको छ ।
गैरकानुनी सम्पत्तिबाट आर्जन भएको रकम र त्यसबाट बढाइएको सम्पत्ति दिनेश यादवले श्रीमती अमृता कुमारी यादवको नाममा राखेको देखिएकाले श्रीमती अमृतालाई पनि प्रतिवादी बनाई सम्पत्ति जफतका लागि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
टिप्पणीहरू: