- असार ०६, २०८०
बारा । तीन बर्षिया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा आक्रोशित स्थानीयबासीले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा प्रदर्शन गरेका छन् ।
प्रहरीले समयमै ध्यान नदिएकाले बालिकाको हत्या भएको भन्दै बुधबारदेखि सुरु भएकाे आन्दोलनलाई आज पनि जारी राखेका छन् ।
आन्दोलित स्थानीयले बिहीबार बिहानैदेखि उपमहानगरपालिका भित्रका ग्रामीण सडकहरूमा समेत टायर बालेर प्रदर्शन गरिरहेका छन् । यसअघि बुधबार दिउँसोबाट बन्द रहेको वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात चल्न सकेको छैन ।
गरिमाको खोजीमा इलाका प्रहरी कार्यालयले गम्भीर लापरबाही गरेको स्थानीयको आरोप छ । गरिमा हराएको बारेमा उनको बुबाले समयमै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएको भए पनि खोजीमा गम्भीरता नदेखाएको उनीहरूको आरोप छ ।
स्थानीयले इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज डीएसपी दिलिप क्षेत्रीलाई कारबाही गर्नुपर्ने माग राखेर अहिले प्रदर्शन गरिरहेका छन् ।
बारा जिल्ला प्रशासनले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने विषयमा आफूहरु सकारात्मक रहेको र छलफलको प्रयास भइरहेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले आजै दिउँसो आन्दोलनरत पक्षको माग समेट्ने गरी निर्णायक वार्ता गर्ने तयारी भइरहेको बताए ।
टिप्पणीहरू: