बुधबार, १४ असोज २०८३

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते


म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज पहिरो जाँदा चार वटा घर, दुई गोठ पुरिएका छन् भने एक जना घाइते भएका छन् । 

पहिरोले घर पुर्दा च्यापिएको अवस्थामा उद्धार गरिएका घाइते ६५ वर्षीय आत्मराज शर्माको म्याग्दीको प्रादेशिक अस्पताल बेनीमा उपचार भइरहेको छ । चक्रपाणि आचार्य, लिलाधर उपाध्याय, आत्मराम शर्मा र मञ्जुला आचार्यको घर तथा सँगै रहेका दुई वटा गोठ पहिरोमा पुरिएका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए । 

 “मालढुङ्गा-बेनी सडकको माथिल्लो क्षेत्रमा धाँजा फाटेको सूचना आएपछि धरै मानिसलाई अन्यत्र सारिएको थियो, घरमै रहेका आत्मरामलाई पहिरोले पुरेको अवस्थामा सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासीले उद्धार गरेर अस्पताल पुर्‍याएका हौँ”, उनले भने, “घाइतेको अवस्था सुधारोउन्मुख छ । विस्थापितलाई मिलनचोकमा अस्थायी बसोबासको व्यवस्था मिलाएका छौँ ।”

 पहिरोले गोठमा रहेका दुई वटा भैँसी र पाठापाडीलाई पुरेको छ । घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा र बन्दोबस्तीका सामग्री पहिरोमा पुरिएको छ । करिब १२ रोपनी खेतीयोग्य जमिन पुरिएको छ । आत्मरामलाई गुहार भनिरहेको अवस्थामा रुखले च्यापिएको अवस्थामा उद्धार गरेको छिमेकी रमेश शर्माले बताए । 

 असोज ८ देखि ११ गतेसम्मको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले लामाबगरमा खेतीयोग्य जमिनलाई बगरमा परिणत गरेको छ । कालीगण्डकीले खेतीयोग्य जमिन कटानको जोखिम बनाएको छ । 

 म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकको मालढुङ्गा-बेनी खण्ड अवरुद्ध भएको छ । केरा बारीको पहिरो पन्छाउने काम भइरहेको र बुधबारदेखि लामाबगरको पहिरो पन्छाउन डोजर परिचालन गरिने जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिए । 

 पछिल्लो चार दिने झरिका कारण जलजला गाउँपालिकाको नौ वटै वडामा भौतिक क्षति गरेको छ । जलजला गाउँपालिका-८ फर्सेका ६८ वटा घर कालीगण्डकीले बगाएको । कालीगण्डकीको बाढीले लामाखेतका २५ घर डुबानमा परेको छ । धाइरिङमा २५ घर विस्थापित र खानीगाउँमा पनि घरहरुमा जोखिममा रहेका छन् । 

 बाढीपहिरो र नदी कटानका कारण असुरक्षित भएका स्थानीयवासीलाई जिल्ला प्रशासन कार्यालय पर्वत तथा विभिन्न निकायको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । मङ्गलबारदेखि विपद्ले पुर्याएको क्षतिको विवरण सङ्कलनका लागि टोलटोलमा जनप्रतिनिधि र कर्मचारी परिचालन गरिएको अध्यक्ष आचार्यले बताए । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ