बुधबार, १४ असोज २०८३

तासकाे खालबाट नियन्त्रणमा लिएका एक व्यक्तिकाे मृत्यु


काठमाडाैं ।  विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागदाैडका क्रममा एक व्यक्ति घाइते भएका छन् भने एक व्यक्तिको मृत्यु भएको छ। 

प्रहरीले दिएकाे जानकारी अनुसार घटनास्थलबाट प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइराला मंगलबार बिहान हिरासतमै अचेत अवस्थामा भेटिएका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरी पुगेपछि भएको भागाभागका क्रममा कोइराला घाइते भएका थिए। पक्राउपछि गरिएको स्वास्थ्य परीक्षणमा पनि उनको अवस्था सामान्य देखिएको उनले बताए।

कोइरालालाई अन्य सात जनासँगै हिरासतमा राखिएको थियो।

मंगलबार बिहान करिब साढे ७ बजे उनी अचानक अचेत भएपछि सँगै रहेका व्यक्तिहरूले प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरीले उनलाई उपचारका लागि कोशी अस्पताल पुर्‍याएको थियो।

कोशी अस्पतालमा उपचार सम्भव नभएपछि कोइरालालाई नोबेल शिक्षण अस्पताल लगिएको थियो। नोबेलमा मंगलबार बिहान करिब ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

मोरङ प्रहरीले विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिएको थियो। राति करिब साढे ११ बजे गस्तीमा रहेको प्रहरी टोली उक्त स्थानमा पुगेपछि समूहका सदस्यहरू भाग्न थालेका थिए।

भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया घरको दुई तलामाथिबाट हामफालेका थिए। उनको दाहिने खुट्टा  भाँचिएको छ। प्रहरीले घटनास्थलबाट उनीहरूको साथमा रहेको ४८ हजार ३ सय ९५ रुपैयाँ नगद पनि बरामद गरेको जनाएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ