बुधबार, ०५ कात्तिक २०८२

लद्दाख हिंसा : केन्द्रले भन्याे - सोनम वाङचुकले जेनजीकाे नाम लिएर हिंसा भड्काए


केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन माग गर्दै प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा चार जनाको मृत्यु भएको छ भने ३० प्रहरीसहित कम्तीमा ५९ जना घाइते भएका छन् ।

यो १९८९ पछि लद्दाखमा भएको सबैभन्दा हिंसात्मक दिन मानिन्छ ।

बुधबारको हिंसापछि, वातावरणीय कार्यकर्ता सोनम वाङचुकले लद्दाखलाई पूर्ण राज्यको दर्जा र छैटौं अनुसूचीको विस्तारको माग गर्दै १५ दिने अनशन अन्त्य गरे ।
हिंसालाई ध्यानमा राख्दै प्रशासनले लेहमा कफ्र्यू लगाएको छ ।

बुधबार राति अबेर एक विज्ञप्तिमा, केन्द्रीय गृह मन्त्रालयले बुधबारको हिंसाको लागि सोनम वाङचुकलाई दोषी ठहराएको छ । वाङचुकले गृह मन्त्रालयको आरोपको जवाफ अहिलेसम्म दिएका छैनन् ।

केन्द्र सरकारले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘केही व्यक्तिहरू पूर्ण राज्यको दर्जा र छैटौं अनुसूचीको विस्तारमा लद्दाखका जनतासँग भएको वार्तामा भएको प्रगतिबाट खुसी छैनन् र यसमा अवरोध पु¥याइरहेका छन् ।’

केन्द्र सरकारले एक विज्ञप्तिमा भनेको छ ‘यी मुद्दाहरूमा उच्च–अधिकार प्राप्त समितिको बैठक अक्टोबर ६ मा हुने तय गरिएको छ, जबकि लद्दाखी नेताहरूसँगको बैठक पनि सेप्टेम्बर २५ र २६ मा हुनेछ ।’

बुधबार बिहान के भयो?

बुधबार बिहान, युवाहरूको एक समूहले आगजनी र तोडफोड गरे । त्यसपछि उनीहरूले भाजपा मुख्यालयलाई निशाना बनाए र धेरै सवारी साधनहरू जलाए ।
अधिकारीहरूले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार ‘शहरभरि ठूलो संख्यामा तैनाथ प्रहरी र अर्धसैनिक बलले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरे ।’

कम्तीमा छ जना घाइतेको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
उपराज्यपाल कविन्दर गुप्ताले घटनाहरूलाई ‘हृदयविदारक’ भने र आज जे भयो त्यो स्वतःस्फूर्त नभई षड्यन्त्रको परिणाम भएको उनको भनाई थियो ।

उनले भने, ‘यहाँको वातावरण बिगार्न खोज्नेहरूलाई हामी छोड्ने छैनौं ।’
उनले अगस्ट २७, १९८९ मा लद्दाखमा ठूलो हिंसा भएको स्मरण गरे, जतिबेला केन्द्र शासित प्रदेशको दर्जाको माग गर्दै आन्दोलनको क्रममा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको थियो ।

अवस्था कसरी बिग्रियो?

बुधबार बिहान लद्दाखको राजधानी लेहको सडकमा सयौं मानिसहरू ‘बन्द गर’ भन्ने नारा लगाउँदै उत्रिए । दिन ढल्दै जाँदा, आगोको ज्वाला र कालो धुवाँको मुस्लो टाढाबाट देखिन थाल्यो ।

सेप्टेम्बर १० देखि भोक हडतालमा रहेका १५ जनामध्ये दुई जनाको अवस्था मंगलबार साँझ बिग्रिएपछि लद्दाखको सर्वोच्च निकायको युवा शाखाले बन्दको आह्वान गरेको थियो ।

अनलाइन कन्फ्रेन्सलाई सम्बोधन गर्दै सोनम वाङचुकले भने ‘त्सेरिङ आङचुक (७२) र ताशी डोल्मा (६०) को स्वास्थ्य बिग्रिएको थियो र उनीहरूलाई अस्पताल लैजानु परेको थियो । यो सम्भवतः हिंसात्मक विरोध प्रदर्शनको तत्काल ट्रिगर थियो ।’

हिंसापछि, कांग्रेस नेता तथा काउन्सिलर फुन्तसोग स्टान्जिन त्सेपाग विरुद्ध भोक हडताल स्थलमा उत्तेजक भाषण दिएको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
भाजपाले यो हिंसा देशमा बंगलादेश, नेपाल र फिलिपिन्सको जस्तै अवस्था सिर्जना गर्न कांग्रेसको ‘कुटिल षड्यन्त्र’ को एक हिस्सा भएको आरोप लगाएको छ ।
दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै भाजपा सांसद तथा राष्ट्रिय प्रवक्ता सम्बित पात्राले भने, ‘आज, लद्दाखमा केही विरोध प्रदर्शनहरूलाई ‘जनरल जेड’ को नेतृत्वमा भएको रूपमा चित्रण गर्ने प्रयास गरिएको थियो, तर अनुसन्धानले यो जनरल जेडको विरोध प्रदर्शन नभएर कांग्रेसको विरोध प्रदर्शन भएको पत्ता लगाएको छ ।’
प्रदर्शनकारीहरूको चार मागहरू रहेका छन् : लद्दाखलाई राज्यको दर्जा, छैटौं अनुसूचीको विस्तार, लेह र कारगिलका लागि छुट्टाछुट्टै लोकसभा सिट र रोजगारीमा आरक्षण ।

केन्द्र सरकारले के भन्यो ?

हिंसापछि, केन्द्रीय गृह मन्त्रालयले बुधबार राति एक विज्ञप्ति जारी ग-यो ।

केन्द्र सरकारले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ ‘सोनम वाङचुकले लद्दाखलाई छैटौं अनुसूची र राज्यको दर्जाको माग गर्दै आमरण अनशन सुरु गरेका थिए ।’

यो कुरा सबैलाई थाहा छ कि भारत सरकारले यी मुद्दाहरूमा शीर्ष निकाय, लेह र कारगिल डेमोक्रेटिक एलायन्ससँग सक्रिय रूपमा संलग्नता गरिरहेको छ । उच्च अधिकार प्राप्त समिति, उप–समिति र नेताहरू मार्फत औपचारिक माध्यमबाट छलफलहरू भएका छन्। यसले महत्त्वपूर्ण परिणामहरू ल्याएको छ ।

‘केही राजनीतिक रूपमा प्रेरित व्यक्तिहरू उच्च–शक्ति सम्पन्न समिति अन्तर्गत भएको प्रगतिबाट खुसी थिएनन् र वार्ता प्रक्रियालाई तोडफोड गर्न खोजिरहेका थिए’ विज्ञप्तिमा भनिएको छ ।

यस प्रेस विज्ञप्तिमा सोनम वाङचुकलाई आरोप लगाउदै भनिएको ‘वाङचुक जुन मागहरूका लागि भोक हडतालमा बसेका थिए, ती मागहरू पनि उच्च अधिकार समितिमा छलफलको अभिन्न अंग हुन् ।’

तर धेरै नेताहरूले अनशन अन्त्य गर्न अपील गरे तापनि, उनले यसलाई जारी राखे र जनतालाई भ्रमित गरिरहे ।

‘उनले अरब स्प्रिंग जस्ता आन्दोलनहरूलाई उत्तेजक रूपमा उल्लेख गरे र नेपालमा जेन जेडको विरोध प्रदर्शनलाई उद्धृत गरे ।’

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सेप्टेम्बर २४ मा बिहान लगभग ११ः३० बजे, वाङचुकको भड्काउने भाषणबाट उक्सिएको भीडले भोक हडताल स्थल छोडेर एक राजनीतिक दलको कार्यालय र सीईसी लेहको सरकारी कार्यालयहरूमा आक्रमण गर्यो ।’

भीडले यी कार्यालयहरूमा आगजनी गरे, सुरक्षाकर्मीहरूमाथि आक्रमण गरे र प्रहरीको गाडी पनि जलाए ।

सोनमले के भने

हिंसालाई ध्यानमा राख्दै, सोनम वाङचुकले आफ्नो अनशन अन्त्यको घोषणा गरे र युवाहरूलाई तोडफोडबाट टाढा रहन अपील गरे ।

उनले भने, ‘युवाहरूले हिंसा बन्द गर्नुपर्छ किनभने यसले हाम्रो आन्दोलनलाई मात्र हानि पु¥याउँछ र परिस्थितिलाई बिगार्छ ।’
वाङचुकले भने, ‘यो लद्दाख र व्यक्तिगत रूपमा मेरो लागि सबैभन्दा दुखद दिन हो, किनकि हामीले विगत पाँच वर्षदेखि पछ्याएको बाटो शान्तिपूर्ण छ । हामीले पाँच पटक भोक हडताल गर्यौं, लेहबाट दिल्लीसम्म पैदल यात्रा गर्यौं,हामी लेहबाट दिल्लीसम्म हिँड्यौं, तर आज हिंसा र आगजनीको कारणले हाम्रो शान्तिको सन्देश असफल भएको देखिन्छ ।’

संविधानको छैटौं अनुसूचीले त्रिपुरा, मेघालय, मिजोरम र आसामका आदिवासी बसोबास भएका क्षेत्रहरूलाई समेट्छ ।
यसअन्तर्गत यी राज्यहरूको सरकार, राष्ट्रपति र राज्यपालको शक्ति, स्थानीय निकायको संरचना, वैकल्पिक न्यायिक प्रणाली र स्वायत्त परिषद् मार्फत वित्तीय शक्ति जस्ता विशेष प्रावधानहरू छन् ।

बीबीसी हिन्दीबाट
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ