मङ्गलबार, ०९ पुस २०८१

करेन्ट लागेर दुई बालिकाको मृत्यु


बागमती, २६ असोज । करेन्ट लागेर आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा दुई बालिकाको मृत्यु भएको छ । 

चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो । उक्त पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ निवासी सात वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए । 

सँगै हिँडिरहेका दुवै बालिकाले अचानक जमेको पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहोस भएका थिए । बेहोस भएका दुवै बालिकालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकामा उपचारका क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । मृतक दुवै नाबालिका रहेकाले नाम थर गोप्य राखिएको उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ