- असार ०७, २०८०
काठमाडौँ । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयले नेपाली विद्यार्थीसँग भएकाे दुर्व्यवहार व्यवहारप्रति माफी मागेकाे छ।
विश्वविद्यालयका उपकुलपति प्रा. सरनजीत सिंहले मंगलबार एक विज्ञप्ति जारी गर्दै साेमबार क्याम्पसमा भएको अप्रिय घटनाबाट आफूहरु स्तब्ध भएकाे बताएका छन्।
उनले क्याम्पसका दुई अधिकारीले गरेको टिप्पणी अत्यन्त गैरजिम्मेवार रहेकाे भन्दै उनीहरूलाई सेवाबाट हटाएकाे जानकारी गराएका छन् ।
‘१६ फेब्रुअरी २०२५ को साँझ हाम्रो क्याम्पसमा भएको अप्रिय घटनाबाट हामी अत्यन्त स्तब्ध छौं । हामीमध्ये केहीले आन्दोलनरत विद्यार्थीसँग गरेको व्यवहारप्रति पनि हामीलाई पछुतो छ । हामी हाम्रा विद्यार्थीहरूलाई माया गर्छौं र उनीहरूलाई कहिल्यै कुनै हानि गरेका छैनौं’, उपकुलपति प्रा. सिंहले भनेका छन्, ‘हाम्रा दुई अधिकारीले गरेको टिप्पणी अत्यन्त गैरजिम्मेवार छ। हामीले उनीहरूलाई सेवाबाट हटाएका छौं । उनीहरूले पनि आफ्नो व्यवहारका लागि माफी मागेका छन् । हामी पनि जे भएको छ, त्यसका लागि क्षमाप्रार्थी छौं। सबै नेपाली विद्यार्थी र जनताप्रति हाम्रो माया र स्नेह प्रकट गर्दछौं ।’
साथै उनले नेपाली विद्यार्थीहरूलाई तत्काल नियमित अध्ययनमा सामेल हुन अपिल गरेका छन्।
ओडिसाकाे केआईआईटी विश्वविद्यालयमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको रहस्यमय मृत्यु भएकाे थियाे। प्रकृतिको मृत्युबारे अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेपछि कलेज प्रशासनले नेपाली विद्यार्थीलाई जबर्जस्ती निकालेको थियाे। याे घटनाकाे चाैतर्फी आलाेचना भएपछि विश्वविद्यालयले माफी मागेकाे हाे।
टिप्पणीहरू: