शुक्रबार, २९ चैत २०८१

'जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने बुझ्नु जरुरी छ'


काठमाडाैं ।  फागुन १ गते जनयुद्ध दिवसकाे अवसरमा नेकपा मा‌ओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश जारी गरेका छन् ।

नेपाली जनताले सदियौँदेखिको उत्पीडन र शोषणका विरुद्ध विद्रोह सुरु गरेको दिनका रुपमा उनले उल्लेख गरेका छन् 'हाम्रा लागि यो दिन नेपाली जनताको ऐतिहासिक संघर्ष र शहीदहरूको बलिदानको सम्मान गर्दै आगामी यात्राका लागि सङ्कल्प गर्ने दिन हो । महान जनयुद्धको यस ऐतिहासिक दिनमा म देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु ।' जारी विज्ञप्तीमा उल्लेख छ । 'जनयुद्धका क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै, घाइते योद्धाहरूप्रति सम्मानसहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।'

अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल गर्यो भन्ने प्रश्न मनमा लाग्न सक्छ भन्दै यो प्रश्न गर्दा जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने कुरा बुझ्नु जरुरी रहेकाे उनकाे भनाई छ । 'यो देशमा सामन्ती शोषण थियो । एउटा वंश र त्यसको वरिपरि घुम्ने सामन्तहरूले जनताको भाग्यको फैसला गर्ने गर्दथे । दलित, महिला, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु लगायतका वर्ग र समुदायमाथि चरम विभेद र उत्पीडन थियो । त्यो स्थितिमा टालटुल र सुधार गरेर समाजको आमूल रूपान्तरण सम्भव थिएन । यसका विरुद्ध प्रतिरोधको अनिवार्यता नै जनयुद्धका रूपमा प्रकट भएको हो।' विज्ञप्तीमा उल्लेख छ ।

इतिहासमै पहिलोपटक युगौँदेखि दबाइएका दलित, जनजाति, मधेसी, थारु, महिला, मुस्लिम, सुदूरपश्चिम र कर्णालीबासी लगायत उत्पीडित समुदाय र क्षेत्रसहित आम जनता आफ्ना अधिकारको रक्षाका लागि संघर्षमा होमिएकाे उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताले यो स्तरको प्रतिरोध नगरेको भए हामी अहिले पनि सामन्ती शोषणमै हुने थियौं भनेका छन् 'राजनीतिक अधिकारदेखि समाजमा यो स्तरको चेतनाको विकास हुने थिएन । त्यसैले जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना थियो, हामी यसमा गर्व गर्छौं ।' उनले भनेका छन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ