बिहिबार, १९ कात्तिक २०८३

जब जब म सत्तालाई प्रश्न गर्छु, मेराे चरित्रमा प्रश्न गरिन्छ : गगन थापा


नेपाली कांग्रेसको आधिकारिकताको विषयमा एउटा हल्लाले अहिले राजनीतिक बजार पिटेको छ । यो प्रकरणमा पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यालयमा हिजो प्रेस कन्फरेन्स गरेर सबै विषयवस्तुहरू डिटेलमा राखिसक्नुभएको छ । जसको सार दुइटा छ- एउटा, यो बदनियतका साथ चलाइएको हल्ला हो, यसलाई हामी पूर्ण रूपमा खारेज गर्छौँ ।

दोस्रो, नेपाली कांग्रेस पार्टी, पार्टीको नेतृत्व सबै खालको अनुसन्धानको लागि तयार छ । यति कुरा पार्टीको महामन्त्रीले बोलिसके पछाडि मैले नबोले पनि हुने हो, तर केही–केही विषयहरूमा मलाई डाइरेक्ट्ली कम्युनिकेट गर्नुपर्छ भन्ने लाग्छ । त्यसैले यो सन्दर्भमा पनि मैले एउटा सानो भिडियो बनाएको छु ।

फिक्सर इनम सापकोटा, जो अहिले प्रहरीको अनुसन्धानको लागि हिरासतमा छन्, उनको भनेर एउटा अडियो बाहिर आएको छ । त्यो अडियाेमा मेरो बारेमा केही कुरा सुनिएको भनेर… त्यो अडियो कहाँ बोलेको, कसले बोलेको, किन बोलेको, कहिले बोलेको थाहा छैन ।

बोलिएको हो कि बोलाइएको हो यो पनि थाहा छैन । मलाई यतातिर अलि चासो पनि छैन किनकि यो समग्र कुराका एकपछि अर्को पोलहरू पक्कै पनि खुल्दै जालान्, जान पनि पर्छ ।

तर एउटा कुरा क्लियर बनाउँछु- नेपाली कांग्रेसको पार्टीको विशेष महाधिवेशन भनेको विद्रोह हो । भाद्र २३ र २४ गते नवयुवाहरूले विद्रोह गरे । त्यो विद्रोहको सम्मान गर्दै पार्टीभित्र चेन्ज चाहिन्छ भनेर हामीले कोसिस गर्‍यौँ, रेसिस्ट भयो । त्यसैले पार्टीका भुईँ तहका कार्यकर्ताहरूले गरेको विद्रोह हो, त्यो विद्रोहमा हामीहरू मिसिएको हो । विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ ? के होला भनेर सोच्छ ? सोच्दैन । करोडको कुरा गर्छन् !

नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा, राजनीतिक-कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन, भएको छैन । फिक्सर इनम सापकोटाको अडियो भनेर बजारमा आएको कुरामा हाम्रो बारेमा यस्तो सुनिएको रे भनेको बारेमा हामीले सार्वजनिक रूपमा उत्तर दिँदै हिँड्नुपर्ने ? यो दिनु नपर्ने विषय हो । तर यति कुरा भन्यौँ, अब सकियो ।

अब प्रश्न हामीलाई सोध्ने होइन । प्रश्न कहाँ सोध्ने ? जहाँ सोध्नुपर्ने हो त्यहाँ सोध्ने । फिक्सर इनम सापकोटा अहिले प्रहरीको अनुसन्धानको लागि हिरासतमा छन्, त्यहाँ सोध्ने प्रश्नहरू । अनुसन्धान फेयर भयो कि भएन भनेर हेर्ने । यसमा को–को जोडिन्छन्, ती सबै कुराहरू खोतल्ने । प्रेसको पनि यही जिम्मा हो र अरू चासो राख्नेहरूको पनि यही जिम्मा हो। जब राम्रोसँग अनुसन्धान हुन्छ, फेयर अनुसन्धान हुन्छ, दूधको दूध पानीको पानी मज्जाले छुटिन्छ । हामी त्यसकै प्रतीक्षामा छौँ ।

अर्को एउटा प्रसङ्ग पनि छ- अडिओमा हाम्रो बारेमा केही कुराहरू आयो, त्यसकारण गर्दा हामी हतार–हतार डराएर पार्टीका नेताहरूलाई भेट्न थाल्यौँ, राती बसेर अनेकन कुराहरू गर्न थाल्यौँ । अरे बाबा ! मैले त भन्दै आएको छु, म तर्सिने जिनिस नै होइन । तर्सिने बानी नै परेको छैन । नेपाली कांग्रेसको पार्टी सभापति छु, मेरो पार्टी सभापतिको रूपमा केही ड्युटिजहरू छन् । मधेश प्रदेशको सरकार नेपाली कांग्रेसको छ । अबको ५–७ दिनभित्र विश्वासको मत लिनुपर्ने छ, अरू राजनीतिक दलसँग संवाद गर्नुपर्ने छ । प्रचण्डलाई केही दिनअगाडि भेटेँ, त्योभन्दा पहिला उपेन्द्र यादवजीलाई भेटेँ, र त्यही सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजीलाई भेटेँ । सकियो ।

कुनै कुरा सरकारको बारेमा लुकेर गर्नुपर्ने नै छैन । जे गर्ने हो खुला गर्ने हो । हामीले अस्ति पार्टी केन्द्रीय कार्यालयमा बकाइदा प्रेसहरूलाई बोलाएर खुला भनिसक्यौँ- यो सरकार ५ वर्षको लागि आएको हो, फाइभ इयर्सको म्यान्डेट छ, त्यसलाई हामी सम्मान गर्छौँ । तर सरकारले राइट कुरामा फोकस गरोस् । आजको उसको फोकस… यत्रो डिजास्टर भएको छ, यति धेरै मानिसहरू घरबारविहीन भएका छन्, तिनको पुनर्स्थापना कसरी गर्ने ? सुकुम्बासीहरू घरटहरा छोडेर गएर खुलामा बसेको कति समय भयो, उनको पुनर्स्थापना कसरी गर्ने ?

सबभन्दा ठूलो कुरा इकोनोमी छ, खोइ जब्स ? खोइ इन्भेस्टमेन्ट ? जताततै बर्बाद हुँदै गएको छ । सब डरले थरथर भएको अवस्था छ । यसलाई सम्हाल्ने कसरी हो ? यो सम्हाल्ने कुरामा हाम्रो ध्यानाकर्षण पनि गराएका छौँ, हाम्रो साथ सहयोग रहन्छ, जहाँ गल्ती गर्छौ त्यहाँ प्रश्न रहन्छ भनेर भनेका छौँ । तर डेमोक्रेटिक राइटलाई खुम्च्याउने कुरा, हाम्रा संस्थाहरूलाई कमजोर बनाउने कुरा हुँदै गर्दा हामी मूकदर्शक भएर बस्दैनौँ, बोल्छौँ, प्रश्न गर्छौँ, पर्यो भने प्रतिवाद गर्छौँ किनकि त्यो हाम्रो ड्युटी हो ।

खुला भनिरहेका छौँ, लुकाएर भन्नुपर्ने कुरा केही पनि छैन । हामीले जतिखेर सरकारमाथि प्रश्न उठायौँ, ठ्याक्कै त्यही बेलाबाट एउटा म्यानुफ्याक्चर्ड नेरेटिभ सुरु भएको छ । के यसले हामीलाई प्रश्न गर्ने कुरा हाम्रो बन्द हुन्छ ? हुँदैन । ठीक कुरामा साथ दिने कुरा पनि बन्द हुँदैन, गलत कुरालाई प्रश्न गर्ने कुरा र प्रतिवाद गर्ने कुरा पनि बन्द हुँदैन ।

लास्टमा एउटा कुरा भन्छु- म गगन थापा, तपाईँको दाइ, तपाईँको भाइ, तपाईँको साथी, तपाईँको छोरा, तपाईँको महामन्त्री कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन । मैले सधैँ भन्दै आएको छु, मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन । मेरो हात सफा छ, माई ह्यान्ड्स आर क्लिन । यति नभएको भए लड्ने आँट आउँथ्यो?

म त आज मात्र हो ? योभन्दा पहिला पनि, योभन्दा अझै बलियो सत्ता भएको बेलामा पनि, सत्ताले गलत गरेको बेलामा त्योसँग लड्दै आएको छु, प्रश्न गर्दै आएको छु । आफ्नै पार्टीको सरकार हुँदै गर्दा त गलत हुँदै गर्दा बोल्न छाडिनँ । बोल्ने आँट कहाँबाट आउँछ ? म कतै कमजोर भएको भए, मेरो स्वच्छता, इमानदारिता, मेरो नैतिकतामा कहिँकतै कम्प्रमाइज्ड भएको भए त्यो बोल्ने आँट आउँछ ? आउँदैन ।

जब–जब म अलि बलियो सत्तासँग मैले प्रश्न गरेको छु, लडेको छु, यस्ता कुनै न कुनै प्रायोजित, म्यानुफ्याक्चर्ड नेरेटिभ मेरो वरिपरि ल्याइएको छ । कहिले यो भयो, कहिले त्यो भयो र व्यापक रूपमा मेरो चरित्रमाथि कोइसन गरिएको छ । तर प्रत्येक पटक लडेर आएँ नि म, प्रत्येक पटक बाँचेर आएँ नि म, ढलिनँ नि म ! किन थाहा छ ? तपाईँको शुभेच्छा, आशीर्वाद आफ्नो ठाउँमा छ तर सबभन्दा ठूलो कुरा मेरो मोरल स्ट्रेन्थ हो । यो लडाइँमा म किन बाँचेको छु भने किनकि म सफा छु, म स्वच्छ छु, म ठीक ठाउँमा उभिएको छु ।

त्यसैले ढुक्क रहनुहोस् । मलाई माया गर्ने सबै साथीहरू ढुक्क रहनुहोस्- तपाईँको भाइ, तपाईँको दाइ, तपाईँको साथी, तपाईँको छोरा, तपाईँको पार्टी सभापति गगन थापा कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन । त्यसैले तपाईँ मेरो बारेमा जिम्मा लिएर बोल्न सक्नुहुन्छ, मेरो बारेमा जिम्मा लिएर भन्न सक्नुहुन्छ- गगन थापाबाट कुनै गलत, अनैतिक काम भएको छैन, हुन सक्दैन । कति साथीहरू भन्नुहुन्छ यो होला, त्यो होला; ती कुनै कुराहरूसँग कुनै चिन्ता लिएर आफ्नो ड्युटी गर्ने होइन। आफ्नो ड्युटी गर्दै जाने हो, जे पर्छ त्यो कुरालाई बेहोर्ने हो ।

खाली एउटा कुरा अन्तिममा रिक्वेस्ट गर्छु- यत्रो प्रायोजित हल्लाहरूका बीचमा प्रश्नहरू चाहिँ मर्नुहुँदैन । प्रश्न मर्‍यो भने डेमोक्रेसी सकिन्छ । डेमोक्रेसी मात्र होइन, हाम्रो प्रगति पनि सकिन्छ । आजको सबभन्दा मूल प्रश्न भनेकै के हामी प्रश्नहरूलाई बचाउन सक्छौँ ? आजको प्रश्न नै यही हो । सबैको ध्यान यसमा जाओस् । यत्ति कुरा राख्छु । धन्यवाद, जय नेपाल ।

नेपाली कांग्रेसका पार्टी सभापति गगन थापाद्वारा जारी भिडियाेबाट  उतारिएकाे शब्द

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ