- भदौ ११, २०८१
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हरायो।
जनकपुरको प्रतियोगितामा पहिलो जित हो। यसअघि लगातार चार खेल हारेको जनकपुरले आज दुई अङ्क जोड्यो। चितवनले भने पाँच खेलबाट दुई खेल मात्रै जितेको छ।
जितका लागि पाएको १७७ रनको लक्ष्य १७.३ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो। यसमा माज सदाकत र अनिल साहले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक जोडे। माजले ६३ र अनिलले ६१ रन बनाए।
बलिङतर्फ चितवनका कमलसिंह ऐरी, साहिल तनवीर र अमरसिंह रौटेलाले एक/एक विकेट लिए। यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ पहिला ब्याटिङ गरेकामा निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनायो।
जसमा ओपनरद्वय डेविड मलान र अर्जुन साँउदले अर्धशतक हिर्काए। मलानले ८० र अर्जुनले ५२ रनको योगदान गरे। यी दुवै ब्याटरबीच ११२ रनको शतकीय साझेदारीसमेत भयो।
जनकपुरका अनिल शाह, रूपेश सिंह, माज सदाकत र जान निकोल लोफ्टी–इटनले एक÷एक विकेट लिए। आजै अपराह्न ४ः०० बजे दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।
टिप्पणीहरू: