बिहिबार, २५ वैशाख २०८२

भारत-पाकिस्तान द्वन्द्वकाे प्रभाव: नेपाली सीमा नाकामा विशेष निगरानी (भिडियाे)


भैरहवा । छिमेकी मुलुक भारत र पाकिस्तानबीच बढ्दै गएको तनावलाई लिएर रुपन्देहीका सीमामा निगरानी बढाइएको छ ।

जिल्लाको मूल नाका बेलहियासंगै सहायक नाका लुम्बिनी, भगवानपुर लगायत सर्वसाधारण हिँड्डुल गर्न सक्ने सबै नाकामा सशस्त्र प्रहरीले निगरानी बढाएको छ ।

बेलहिया नाकामा भने तालीम प्राप्त कुकुरहरु डेजी र सायाबाट “डग स्निफिङ्ग” गराएर मात्र नेपाल प्रवेश गर्न दिइएको छ । सशस्त्र प्रहरी बल, नेपाललेसीमानाकामा ‘डेजी’ र ‘साया’ लाई तैनाथ गरेको छ ।

सीमाबाट हुन सक्ने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सीमाको सुरक्षार्थ डग हेण्डलरसहित यसअघि नै पठाएको ‘डेजी’ र ‘साया’ लाई बेलहिया सीमा नाकामा खटाइएको छ ।

‘डेजी’ र ‘साया’ तालिम प्राप्त कुकुर हुन् । तीन महिनाको हुदाँ भारतबाट खरिद गरेर ल्याइएको जर्मन सेफर्ड प्रजातीको ‘डेजी’ ले हात–हतियार तथा विष्फोटक पदार्थका साम्रगी सुँघेर पत्ता लगाउनमा अब्बल छ भने नेपालमै जन्मिएको ल्याब्राडोर प्रजातिको ‘साया’ लागुऔषध प्रकृतिका साम्रगी सुँघेर पत्ता लगाउनमा अनुभवी छ ।

यसबाहेक पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ ।


सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तिब्रता दिइएको सशस्त्र प्रहरी बल नेपालका सह– प्रवक्ता शसस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र थापाले बताए । यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा ईलाकामा रहने गरी पट्रोलिङ गरिएको छ ।

अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ भने बाहिनी मुख्यालयहरुले सोही अनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेको थापाले बताए ।

सीमा ईलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरुको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने र सम्भावित संकित स्थानहरुमा निगरानी एवं चेकजाँच तथा सुक्ष्म रुपमा खबर संकलन कार्य समेत गरिराखेको उनले बताए ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्ने गरी वारपार गर्नेलाई निगरानी गर्ने कार्य समेत कडाईकासाथ गरिएको छ ।

यससंगै नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत रहेको सह–प्रवक्ता थापाले बताए । त्यसप्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्यसमेत गरिएको र शहरी क्षेत्रका सम्भावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरुमा निगरानी बढाईएको उनको भनाई छ । रासस



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ