- असार ०६, २०८०
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुले नेतृत्व गरेकाे सरकारले भ्रष्टाचारविरुद्ध चालेको अभियानबाट अत्तालिएर बिचौलिया र दलालहरूको ‘सेटिङ’ले सत्ताबाट हटाएकाे दाबी गरेका छन् ।
शुक्रबार ललितपुरमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै संयाेजक प्रचण्डले संविधान र लोकतन्त्रको मर्म विपरीत सरकार गठन गरिएकाले देश आज गम्भीर सङ्कटमा फसेको र त्यसैको परिणामस्वरूप ‘जेनजी’ आन्दोलनजस्ता घटनाहरू जन्मिएको सुनाए ।
आफ्नो १८ महिने कार्यकालमा राम्राे काम भएकाे दाबी गर्दै प्रचण्डले ‘जेनजी’ आन्दोलनलाई देशमा बढेको बेथिति र असन्तुष्टिको उपजको रूपमा व्याख्या गर्दै यसले सबै राजनीतिक दलहरूलाई गम्भीर समीक्षाका लागि घच्घच्याएको बताए ।
देशलाई यो सङ्कटबाट निकास दिन र युवाहरूको आवाजलाई सम्बोधन गर्न बृहत् राष्ट्रिय सहमति अनिवार्य रहेकोमा उनको जोड थियो ।
संविधान संसाेधन गराैं
अहिलेकाे संविधानले अब काम नगर्ने भन्दै संशोधनसहितको परिमार्जन गर्ने प्रस्ताव गरेका छन् । संविधान संसाेधनकाे एजेण्डा सहित कांग्रेस एमालेकाे सरकार बने पनि संविधान संसाेधनका लागि दुबै दलले पहल गरेनन् ।
जेनजी युवा आन्दोलनले संविधानको विषयलाई नितान्त नयाँ कोणबाट सोच्नुपर्ने ठाउँमा ल्याइदिएको प्रचण्डकाे भनाई थियाे ।
माओवादी केन्द्रले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने यसअघिबाटै बताउँदै आएको स्मरण गर्दै सबै दल एक भएर संविधान संसाेधनका सवालमा बहस हुनु पर्ने बताए ।
टिप्पणीहरू: