- असार ०६, २०८०
काठमाडौँ । नेपालमा ८६ हजार ८०९ यौन श्रमिक रहेका राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको यौन श्रममा संलग्न व्यक्तिको अधिकारका सम्बन्धमा छलफल कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।
यौन श्रम र मानव बेचबिखन एउटै विषय नभएको छलफल कार्यक्रमका वक्ताले बताएका छन् । छलफलमा यौन श्रमलाई पनि मानव अधिकारसँग जोडेर हेर्नुपर्ने यस विषयमा अनुसन्धान गरिरहनुभएकी दिदीक्षा सिंहले बताइन्।
यौन श्रमसँग जोडिएको वर्तमान कानुन, यसलाई संशोधन गर्न बनेको विधेयक र यौन श्रमिकका लागि चाहिने कानुनबारे उनल प्रस्तुति दिएकी थिइन् । “वर्तमान कानुनले यौन श्रमलाई अपराधीकरण गरेको छ । यौन श्रमिकमाथि हुने हिंसा न्यूनीकरण गर्नुपर्ने, पुनःस्थापित हुन चाहनेका लागि विकल्प दिइनुपर्ने र नेपालमा पनि ‘नोरडिक मोडल’को कानुनी व्यवस्था अपनाउनुपर्ने छ”, प्रस्तुतीकरणमा उल्लेख गरिएको छ ।
कानुन मन्त्रालयले प्रस्ताव गरेको संशोधित विधेयकले पनि यौन श्रमलाई निरअपराधीकरण गर्न नसक्ने अधिवक्ता नवीनकुमार श्रेष्ठले बताए । “सरकारले मूल संहिताको धारा ११९ र १२० लाई संशोधन गर्ने तयारी गरेको छ । यो धारा संशोधन भए यौन तथा एचआइभी रोगीको सङ्ख्या बढ्ने सम्भावन रहेको सासा नेपालका प्रतिनिधि अधिवक्ता सञ्जय तिमल्सिनाले बताए।
“यौनकर्मीले रेडलाइट एरिया पनि खोजेका छैनन्, नोरडिक मोडल पनि चाहेका छैनन्, उनीहरूले श्रमलाई मानव अधिकारसँग जोड्न मात्र चाहेका छन्”, उनले भने। यौन श्रमिकलाई कानुनी मान्यता नभए पनि निरअपराधीकरण गर्न जरुरी रहेको अधिवक्ता तिमल्सिनाको भनाइ छ ।
यौन श्रमिकलाई अभद्र व्यवहारको दफा लगाएर प्रहरीले दुःख दिन नहुने धारणा राख्दै संशोधित विधेयकले यौन श्रमिकलाई सम्बोधन गर्ने र जीविकोपार्जन सहज बनाउन वकालत गर्नुपर्नेमा कार्यक्रमका वक्ताको जोड दिएका हुन् ।
टिप्पणीहरू: