शनिबार, १७ साउन २०८२

गृहमन्त्री भन्छन् -लागुऔषधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी प्रभावकारी ढङ्गले काम गर्न आवश्यक रहेको बताएका छन् ।
    
काठमाडौँको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरो कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागुऔषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतीका रुपमा देखिएको बताए ।
    
“लागुऔषध प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर अपराध बढाउँछ ।  हामीले एक वर्षमा लागुऔषधविरुद्धको महाअभियान लागू गरेका थियौँ । त्यो अभियान सार्थक भएको छ”, उनले भने “यो अभियानमा आमनागरिकसहित सबैको सहकार्य आवश्यक छ ।”
    
विगत वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागुऔषध नियन्त्रणमा प्रगति भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने, “आगामी दिनमा थप प्रभावकारी ढङ्गले यो चुनौतीको सामना गर्ने गरी अगाडि बढ्नुपर्छ । स्रोतसाधनको कमी भएपनि धेरै काम गर्न सक्यौँ । त्यो यो एक वर्षमा देखिएको छ”, उनले भने । लागुऔषधको बिगबिगी देखिएको भन्दै यसविरुद्धको अभियानमा सरकार सशक्त भएर लाग्ने बताए ।
    
“युवामा यसको लत देखिएको छ । देशको भविष्य जोडिएको युवाशक्ति लागुऔषधमा फसेको छ”, गृहमन्त्री लेखकले भने, “लागुऔषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ । लागुऔषध अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागुऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ । यो प्रहरीको मात्र होइन । सबै नागरिकको जिम्मेवारी हो ।”
    
गृहमन्त्री लेखकले लागुऔषध ब्युरोलाई विभागकै रुपमा विकास गरिने बताए । “ब्युरोलाई विभागका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ”, उनले भने । लागुऔषध ब्युरोलाई विभागका रुपमा विकास गर्न तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापासहित प्रहरी प्रधान कार्यालयलाई उनले निर्देशन दिए । 
    
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ