सोमबार, ०२ असार २०८२

गर्मीले आकुल ब्याकुल


काठमाडौं। वर्षा सुरु भएपछि तापक्रम घट्ने अनुमान गरिए पनि अझै गर्मी कम हुन सकेको छैन। गर्मीले उकुसमुकुस छन् आम सर्वसाधारण। गर्मीको असर तराईको तुलनामा पहाडमा थोरै हुने भएपनि यसपाली सबैतिर एकछत्तै असर देखिएको छ।

चर्को गर्मी बढेको भन्दै धेरै स्थानीय तहले विद्यालय बन्द गर्न सूचना जारी गरेका छन्। गरिखाने वर्ग सबैभन्दा धेरै मारमा परेका छन्। गर्मीमा मान्छेहरुको आवतजावत कम हुँदा बजार क्षेत्रमा चहलपहल हराएको छ भने गाउँघरमा असर उत्तिकै देखिन थालेको छ। गर्मीको असर वृद्ध र बालबालिकामा पर्न सक्ने भन्दै स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन्।

धनगढीको तापक्रम ४० डिग्री

केही दिनदेखिको उखरमाउलो गर्मीले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। चर्को गर्मीका कारण सर्वसाधारणलाई दैनिक कामकाज गर्न असहज बनेसँगै जनजीवन प्रभावित बनेको हो।

पछिल्ला दिनमा धनगढीको अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा बढी गर्मीको महसुस भएको जल तथा मौसम विज्ञान विभाग अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले बताए।  

गरिखाने वर्ग सबैभन्दा धेरै मारमा परेका छन्। गर्मीमा मान्छेहरुको आवतजावत कम हुँदा बजार क्षेत्रमा चहलपहल हराएको छ भने गाउँघरमा असर उत्तिकै देखिन थालेको छ।

‘न्यूनतम तापक्रम र अधिकतम तापक्रमको अन्तर घट्दै जाँदा बढी गर्मी महसुस भइरहेको हो, यसबाहेक धेरै समय मानिसले न्यूनतम तापक्रममा बस्नुपर्ने अवस्थाले पनि गर्मी महसुस भएको हो’, उनले भने।

धनगढीमा सोमबारको अधिकतम तापक्रम ४० दशमलव दुई डिग्री सेल्सियस र न्यूनतम तापक्रम २९ दशमलव २ डिग्री मापन भएकामा मंगलबार अधिकतम तापक्रम ३७ दशमलव दुई र न्यूनतम तापक्रम २६ दशमलव ५ डिग्री सेल्सियस थियो।

गर्मी बढेसँगै मध्याह्नको समयमा धनगढीसहितका बजार क्षेत्रमा ग्राहक पातलिँदा व्यापारिक चहलपहल पनि घटेको छ। गर्मीकै कारण कतिपय व्यापारिक पसल दिउँसोको समयमा बन्द गर्ने गरिएको छ।

‘कोठाको सिलिङ पङ्खाले समेत तातो हावा दिँदा राति अनिँदो बस्नुपरेको स्थानीय वीरबहादुर चौधरीको भनाई छ। असाध्यै गर्मी भएपछि छतमा पानी हालेर घर चिस्याउन परेको छ’, उनले भने।

दुई जनामा ‘हिट स्ट्रोक’

चितवनमा यसपाली तापक्रम ३९ डिग्रीसम्म पुगेको छ। गर्मी बढेपछि जनजीवनमा प्रत्यक्ष असर पर्न थालेको छ। गर्मी बढेकै कारण स्थानीय निकायले विद्यालय बन्द गरेका छन्। दिउँसो सडक र बजार सुनसान देखिन थालेका छन्।

अस्पतालमा गर्मीसम्बन्धी समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको भरतपुर अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलको भनाई छ।

उनका अनुसार अत्यधिक गर्मी र हावामा आद्रता धेरै हुँदा पसिना नआउने समस्या हुन्छ, जसले गर्दा शरीरको भित्री तापक्रम अत्यधिक बढ्छ। यस्तो अवस्था गम्भीर ‘हिट स्ट्रोक’मा परिणत हुन सक्छ।

अहिले चितवनमा दुई जना व्यक्तिलाई हिट स्ट्रोक भएको पुष्टि भएको समेत उनले जानकारी दिए। तीमध्ये एक जना चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचारपछि निको भएर फर्किसकेका छन्।

अत्यधिक गर्मीले विद्यालयहरू बन्द

अत्यधिक गर्मीले पठनपाठनमा समस्या भएपछि वीरगञ्ज महानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

वीरगञ्ज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखिको बढ्दो गर्मीलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई ध्यान दिँदै जेठ २९ र ३० गते बिदा दिने निर्णय गरेको जानकारी दिए।

पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीका कारण जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए।

यसैगरी अत्यधिक गर्मीका कारण सुनसरीकाे सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ। जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिए।

मंगलबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परी पठनपाठनमा समस्या उत्पन्न भएकाले यहाँका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको उनले जानकारी दिए।

इटहरी उपमहानगरपालिकाले समेत गर्मीका कारण एक दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा गर्ने निर्णय गरेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ