शनिबार, २० भदौ २०८३

दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


तस्विर : एआई

कास्की । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत पोखरा–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारीको यसपटक तीजमा घर आउने योजना थियो । आफ्ना दिदीबहिनीसँग बसेर तीज मनाउने र उनीहरूका लागि किनेका नयाँ कपडा उपहार दिने सोचमा थिए । 

यही भदौ ९ गते साँझ ‘भिडियो कल’मार्फत किनेका कपडा देखाउँदै ‘यो कलर कस्तो छ’ भन्दै उनले परिवार र दिदीबहिनीसँग खुशी साटेका थिए । । 

 दिदीबहिनीलाई तीजको उपहार दिने र परिवारसँगै चाड मनाउने उनको त्यो सपना अब सँधैका लागि अधुरै रह्यो । टिमुरे भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत ४७ वर्षीय अधिकारी गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन भए । बाढीमा परेका उनको अवस्था त्यसयता अज्ञात छ ।

घटनापछि ज्यान जोगाएर फर्किन सफल उनका सहकर्मीका अनुसार अधिकारी बाढी आउनुअघि अन्य साथीसँगै कार्यालयकै काममै थिए । सोही बाढीमा भन्सार कार्यालयका १५ कर्मचारी सम्पर्कविहीन भएका थिए । 

पोखरा विमानस्थल भन्सार कार्यालयबाट करिब छ महिनाअघि टिमुरे सरुवा भएर गएका अधिकारी यसबीचमा दुई पटक घर आएका थिए । परिवारका सदस्य उनी फेरि सकुशल घर फर्किनुहुन्छ भन्ने आशामा बसे तर,उनको कुनै खबर आएन । 

बाढी आएको दिन बिहानसम्म अधिकारी परिवारसँग सम्पर्कमा थिए ।  त्यसपछि भने उनीसँग परिवारको कुनै सम्पर्क हुन सकेन । 

परिवारले पटक–पटक उनको मोबाइलमा फोन ग-यो । विभिन्न ठाउँमा बुझे र अस्पताल र शव राखिएका स्थानमा समेत खोजी ग-यो । सुरुमा अप्ठ्यारो भूगोलका कारण सम्पर्क हुन नसकेको हुनसक्ने भन्दै परिवारले उनी सकुशल फर्किने आशा मारेको थिएन । 

बिहीबार घटनास्थलको प्रत्यक्ष अवलोकन गरेर पोखरा फर्किएपछि भने परिवारको आशा समाप्त भयो । लामो समयसम्म कुनै जानकारी नपाएपछि परिवारले हिन्दु संस्कारअनुसार शुक्रबार कुशको शव बनाएर शुक्रबार रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गरेर काजकिरिया सुरु गरेको छ ।

छोरा विनय अधिकारीले बुबासँग बाढी आउने दिनको विहानसम्म परिवारको सम्पर्क रहेपनि त्यसपछि कुराकानी हुन नसकेको बताए। 

“बुबा सकुशल आउनुहोला भनेर धेरै कामना गरेर बस्यौँ । तर केही जानकारी पाउन सकिएन। हिजो टिमुरे पुगेर साँझ फर्किएपछि त्यहाँको अवस्था देख्दा अब बुबा आउनुहोला भनेर आशा गर्ने ठाउँ नै रहेन ।” उहाँले मलिन अनुहार र सुस्त आवाजमा भने ।

बुबा बेपत्ता भएपछि परिवारले कम्तीमा शव भए पनि भेटिन्छ कि भन्ने आशामा विभिन्न अस्पताल र स्थानमा खोजी गरेको विनयले बताए । धादिङमा एउटा शवको तस्बिर  मिल्दोजुल्दो देखिएपछि परिवार शव पहिचानका लागि त्यहाँसम्म पुगेको थियो । तर, प्रत्यक्ष रूपमा शव हेर्दा त्यो अधिकारीको नभएको पुष्टि भयो ।

“धादिङमा भेटिएको शवको तस्बिर हेर्दा मिल्दोजुल्दो देखिएपछि हामी गयौँ,” विनयले भने, “तर हातमा भएको ट्याटुका आधारमा त्यो शव बुबाको नभएको पुष्टि भयो ।”

अधिकारीका छिमेकी र मिल्ने साथी रहेका नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले अधिकारी सम्पर्कविहीन भएदेखिनै समावेशी टोलमा सन्नाटा छाएको बताए । 

सहयोगी, मिलनसार र सामाजिक स्वभावका अधिकारी बेपत्ता भएपछि टोलवासी पनि निरन्तर खोजीमा जुटेको उनले बताए । शव वा अन्य कुनै सुराकको खोजीमा पोखरा, चितवनलगायतका अस्पतालसम्म पुगे पनि लामो समयसम्म कुनै जानकारी प्राप्त हुन नसकेको उनको भनाइ छ । 

“जागिरका क्रममा उहाँ टिमुरे गए पनि हामीबीच दैनिकजसो कुराकानी हुन्थ्यो । टाढा रहे पनि उहाँलाई टोल र छिमेकको सधैँ चासो हुन्थ्यो । कसैलाई अप्ठ्यारो पर्दा सबैभन्दा अगाडि सर्ने स्वभाव थियो । साथीको यस्तो अकल्पनीय घटनाले हामीलाई गहिरो पीडा दिएको छ,” बरालले दुःख व्यक्त गरे ।

सामाजिक कार्यमा सक्रिय अधिकारी गीत–सङ्गीतमा पनि उत्तिकै रुचि राख्थे । समावेशी टोलको सहसचिवका रूपमा उहाँले टोलका समस्या समाधान र विकासका काममा सक्रिय भूमिका निर्वाह गरेका थिए । 

उनको अर्को विशेष परिचय थियो मुरलीको मधुर धुन । विशेषगरी साथीभाइ जम्मा भएको बेला मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउने उनको कला टोलवासीका लागि अहिले सम्झना बनेको छ ।  

छिमेकी घनश्याम पाण्डेका अनुसार अधिकारी घरमा हुँदा मुरली कहिल्यै छुटाउदैन थिए । 

 “साथीभाइ जम्मा हुनेबित्तिकै उहाँ मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउनुहुन्थ्यो । उहाँ घरमा हुँदा मुरली सधैँ साथमै हुन्थ्यो। त्यसैले कुशको शवसँगै एउटा मुरली पनि राखिदिएका छौँ । अर्को मुरली उहाँको सम्झनाका लागि घरमै राखेका छौँ,” पाण्डेले भने ।

तनहुँको तत्कालीन मिजुङ गाविस तथा हालको भानु नगरपालिका–५ स्थायी घर भएका अधिकारीको परिवार विगत १५ वर्षदेखि पोखरा–१४, समावेशी टोलमा बसोबास गर्दै आएको छ । उनका आमा, श्रीमती, एक छोरा, एक छोरी, तीन दिदी र एक बहिनी हुनुहुन्छ ।

गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि पोखराका १२ जना अझै सम्पर्कविहीन रहेका छन् । घटनामा परेर कुनै जानकारी नपाएकाका परिवारले अझै पनि आफ्ना प्रियजन आउने झिनो आसमा छन् ।

 बाढीपछि सम्पर्कविहीन भएका तीन जना भने पछि परिवारको सम्पर्कमा आएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। अन्यको अवस्था भने हालसम्म अज्ञात रहेको उनले जानकारी दिए ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ