बिहिबार, १५ माघ २०८२

फागुन २१ काे निर्वाचन सम्पन्न गर्न सरकार अहोरात्र खटिरहेकाे छ: प्रधानमन्त्री कार्की


ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ सरकार अहोरात्र खटिरहेकाे बताएकी छन्।

ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सुशासन र निर्वाचनलाई मुख्य एजेन्डाका रूपमा अघि बढाउँदै निर्वाचनकाे तयारीका काम धेरै अगाडि बढाइसकेकाे बताएकी हुन्।

उनले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न सरकार आतुर रहेको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरिन्।

'मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित रूपमा अघि बढाउने एकमात्र विकल्प निर्वाचन नै हो', उनले भनिन्।

समाजमा कुनै पनि प्रकारको अराजकता स्वीकार्य नहुने स्पष्ट पार्दै प्रधानमन्त्री कार्कीले शान्ति खल्बल्याउने, कानुन हातमा लिने तथा आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको बताइन्।

उनले खराब तत्त्वविरुद्ध प्रतिरोध गर्न समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै शान्ति र सुव्यवस्थाका लागि सबैलाई हातेमालो गर्न आग्रह गरिन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ