- असार ०७, २०८०
रौतहट। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई मलखाद्य नदिएर सरकारले अपराध गरिरहेको बताएका छन्।
रौतहटको कटहरियामा आज (सोमबार) बसेको आजपाको रौतहट जिल्ला कमिटीको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिले धानबाली लगाउने समयमा मल नदिएर सरकारले किसानलाई जिउँदै मारिरहेको बताए।
‘अहिले धानवाली लगाउने महत्वपूर्ण समय छ। यो कुरा सरकारमा बस्नेहरुलाई पनि थाहा छ। किसान अहिले मलखाद्य, विउबिजनको जोहो गरिरहेका छन्। तर यो अन्धो सरकारले किसानको पिडा देखिरहेको छैन। किसानमारा सरकारलाई किसानको आँशुले पोल्छ,’ आजपा अध्यक्ष साहले भने, ‘किसानलाई मलखाद्य, बिउविजन उपलब्ध गराउने जिम्मेवारी केन्द्रीय सरकारको हो, तर किसानको बारेमा गफ मात्रै दिइरहेको छ मलखाद्य उपलब्ध गराउन सकेको छैन।’
किसानहरु अहिले मलखाद्य नपाएर छटपटाइरहेको बताउदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग किसानलाई मल किन उपलब्ध नगराएको भन्दै प्रश्नसमेत गरे। उनले भने, ‘के किसानलाई जिउँदै मार्दा तपाईं (ओली)लाई पोलिरहेको छैन? किसानको आँशुले पोल्छ।’
किसानलाई मलखाद्य उपलब्ध गराउने केन्द्रीय सरकारले मल उपलब्ध गराउन नसकेको तर किसानले एकदुई बोरा मल भारतबाट ल्याउँदा सीमामा बस्ने प्रहरीले पक्राउ गरेर बहादुरी देखाइरहेको टिप्पणी साहले गरे। जनताको समस्या, जनताको चाहना नबुझेको वर्तमान सरकार पूर्णरुपमा असफल भईसकेको उनले बताए।
बिचौलियाले बनाएको गठबन्धन र वर्तमान सरकारका कारण बिचौलियाहरु नै खुसी देखिएको बताउँदै उनले किसान, सर्वसाधारणहरु निराश भएको बताए।
बिचौलियाका लागि काम गरिरहेको यो सरकारलाई किसानलाई मलखाद्य उपलब्ध गराउने बारेमा सोच्ने फुर्सदसमेत नभएको टिप्पणी उनले गरे।
यस्तै, उनले लुटकारी दलतन्त्रका विरुद्धमा न्यायप्रेमी जनता एवं दलहरु एकजुट हुनुपर्ने अहिलेको आवश्यक्ता भएको बताए।
बिचौलिया, भगौडावर्गको पक्षपोषण गरिरहेको यो सरकारले दलीय सिण्डिकेट लागू गरेर लुट मचाएको आरोप साहले लगाए। लुटकारी दलतन्त्रको विरुद्धमा एकजुट भएर अगाडी नबढे मुलुक धरासायी बन्दै जाने उनले बताए।
बैठकले संगठन निर्माण, बिस्तारका साथै किसानलाई मलखाद्य, बिउबिजन उपलब्ध गराउन संघर्ष गर्ने निष्कर्ष निकालेको छ।
आजपा रौतहट इन्चार्ज धर्मेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा आजपा कार्यालय सदस्यहरू समिना हुसैन, त्रिभुवन साह, सियाराम कुशवाहा, उमेश कुशवाहा लगायतका नेताहरुको विशेष सहभागिता रहेको थियो।
टिप्पणीहरू: