आइतबार, ०२ कात्तिक २०८२

अख्तियार प्रमुख राईकाे राजीनामा माग्दै जेनजी अलायन्सले बुझायाे दबाबपत्र


काठमाडौं। जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै दबाबपत्र बुझाएको छ।

मंगलबार बिहान टंगालस्थित अख्तियारको कार्यालय पुगेर जेनजी अलायन्सले दबाबपत्र दर्ता गराएकाे हाे। 

भदाै २३ गतेबाट सुरु गरिएको आन्दोलनका मुख्य मागहरु पूरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीहरुकी नियुक्ति गर्न आवश्यक रहेकाे जेनजी अलायन्सले उल्लेख गरेकाे छ।

‘तपाईंलगयत अरु सम्पूर्ण आयुक्तको नियुक्ति संसदीय सुनुवाइबिना वै पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले अध्यादेश जारी गरी निरंकुश ढङ्गले भएको छ। यसले तपाईंको निष्पक्षतामा ठुलो प्रश्न उठाउँछ’, पत्रमा भनिएकाे छ।

पत्रमा थप भनिएको छ, ‘साथै तपाईंका कार्यहरू राजनीतिक रूपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै छन् र तपाईंको आफ्नै नाम वाइडबडी घोटालालगायत धेरै भ्रष्टाचारका मुद्दाहरूमा मुछिएको पनि छ। विशेष अदालतले समेत स्पष्ट रूपमा तपाईं र सिंगो अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यप्रणालीमाथि प्रश्न उठाएको छ। यसले भ्रष्टाचार अन्त्य र दोषीलाइ कारबाहीलगायतका सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्न गलत नहोला। तपाईंको नेतृत्वमा यी कार्यहरू निष्पक्ष रूपले हुनसक्ला भन्नेमा कुनै विश्वसनीय आधार छैन। यसकारण ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्ट्राचार र दण्डहीनताको अन्त्य गर्नका लागि दिएको शहादतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईंलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि आह्वानका साथै यस पत्रमार्फत दबाब दिन्छौँ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ