शुक्रबार, १४ कात्तिक २०८२

विद्युत कटौतीविरुद्धको कार्यक्रममा भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन (भिडिओ)


रुपन्देही। उद्योगमा विद्युत् कटौती भएको विरोधमा मन्तव्य राख्दै गर्दा ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् कटौतीको विरोधमा आयोजना गरेको कार्यक्रममा संस्थागत धारणा राख्नेक्रममा ढलेर जिफन्टका उपाध्यक्ष गौतमको बिहीबार मृत्यु भएको हो।

सम्बोधनका क्रममा विद्युत महशुल भुक्तानी नगरेको निहुँमा लाइन काटिदिँदा २५ हजार श्रमिकको रोजगारी गुमेको तथा उद्योगी व्यवसाय धरापमा परेको भन्दै उनी आक्रोसित देखिन्थे।

‘श्रमिकलाई गुमाउन नचाहेको’ बताउँदै गर्दा उनको बोली लरबरिएको सुनिन्थ्यो भने ‘अतःयो कारणले...’ भन्दै गर्दा उनी ढलेकाे र तुरुन्तै अस्पताल पुर्याउँदा उनको निधन भइसकेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिए।

सो कार्यक्रममा करिब तीन मिनेट मात्र मन्तव्य राख्न भ्याएका उपाध्यक्ष गौतम अकस्मात ढलेपछि करिब १५ मिनेटभित्र नजिकको अस्पताल पुर्याइएपनि उनको निधन भइसकेको अस्पताल प्रशासनले जनाएको छ।

वुटवल ज्योतिनगरका ६२ वर्षीय गौतमले मुलुकको ट्रेड युनियन आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए। यस क्षेत्रका १३ वटा उद्योगमा विद्युत् कटौती भएको विरोधमा आयोजित उक्त कार्यक्रममा पनि उनले श्रमिक तथा मजदुरकै पक्षमा बोलेको सङ्घका अध्यक्ष आचार्यले जानकारी दिए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ