- असार ०७, २०८०
काठमाडौं। निर्देशक दिपक प्रसाद आचार्य (काकु) ले बिहीबार सामाजिक सञ्जालमा एमाले नेता शेरबहादुर तामाङको पोष्ट शेयर गर्दै फेसबुकमा लेखे, ‘यस्ता समाचार मात्रै शेयर गर्न पाइयोस् दुई चार वर्ष’।
एमाले नेता तामाङले दैलेखमा भइरहेको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन आफ्नै फेसबुक वालमा शेयर गर्दै एकसय खर्ब बढी आम्दानी हुन सक्ने उल्लेख गरेका थिए।
अहिलेसम्म ग्यास, पेट्रोल सतप्रतिशत आयात गर्नुपर्ने मुलुकका लागि यो ऐतिहासिक उपलब्धि पनि हो। तर, आम सर्वसाधारण यो ऐतिहासिक उपलब्धिमा खुसी हुनुको सट्टा भ्रष्टाचार हुने आशंकाले त्रस्त देखिए। ‘यो बेचेर नेता धनी हुन्छन् देश होइन’, अभिराज खाती अन्जानले कमेन्टमा लेखेका छन्। सुवास खत्रीको आशंका छ, ‘फेरि कर्णाली अफ्रिका बन्ने त होइन?’
पत्रकार रामकृष्ण ज्ञवालीले प्रधानमन्त्री केपी ओलीकै कारण सम्भव भएको आशय व्यक्त गर्दै लेखेका छन्, ‘रास्वपा, राप्रपा र माओवादी साथीहरु ! आउनुहोस्, फेरि सबैले केपी ओलीलाई भरमार गाली गरम्। यिनले देशलाई ५० वर्षलाई पुग्ने प्राकृतिक ग्यास उत्खनन् गर्न थाले। जमिनभित्र थुपुक्क सुरक्षित बसेको देशको सम्पत्ति बाहिर निकाल्नु गलत हो। सक्दो विरोध गरम्।’
ओमराज आलेले कमेन्टमा लेखेका छन्, ‘तपाईं हद दर्जाको झोले नहुनुस् न प्लिज यो हालका प्रधानमन्त्री केपी ओलीले मात्रै गरेको होइन। धेरै अगाडिदेखिको योजना हो। फेरि उद्घाटन गरेर रमाइलो गर्न लगाउनु होला नि।’ यस्तै नवराज पहाडीले लुटेर खाने हुन् कि भनेर चिन्ता व्यक्त गरेका छन्।
सुशासन कायम गर्ने भन्दै नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार बनेको एक वर्ष पुग्न लाग्दा पनि सुशासनको अनुभुति नभएकाले आम सर्वसाधारण हरेक प्रसंगलाई कर्के आँखाले मात्रै हेर्न थालेको अनुभुति हुन्छ। नेपाल जस्तो मुलुकमा ग्यास, पेट्रोल वा अन्य कुनै पनि खानी भेटिनु राष्ट्रका लागि उपलब्धि हो तर, भ्रष्टाचारको आशंका चाहिँ दुर्भाग्य हाे।
टिप्पणीहरू: