बिहिबार, ०५ असार २०८२

नेताको क्षेत्रमा पूरै बजेट खन्याइयो, अरु सांसदहरु हेरेको हेर्यैजस्तो भयो: प्रभु साह


काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बजेटको असमान वितरण गरेर सरकारले अन्याय गरेको बताएका छन्।

उनले चोर र लुटेरा नेताहरुबाट मुलुकलाई मुक्त गर्नुपर्ने आवश्यक्ता रहेको उनले बताए। नेपाली जनताले तिरेको करको रिटर्नी नपाएको गुनासो उनले गरे।

आज (बिहीबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नेताहरुको क्षेत्रमा बजेट खन्याउने र बाँकी जनताहरु हेरेको हेर्यै हुने अवस्था रहेको उनले बताए।

देशको बजेट नेपाली जनताको रगत पसिनाबाट बनेको पनि उनले सरकारलाई स्मरण गराए। देशको बजेटमा सबैको समान लगानी रहेको बताउँदै उनले विनियोजन पनि समान हुनुपर्ने बताए।

‘एउटा व्यापारीकोमा गएर हामीले पैसा दियौं भने उसले पैसावापत सामान दिन्छ। एउटा मजदुरले कहीँ गएर काम गर्यो भने काम गरेवापतको ज्याला पाउँछ। नेपाली जनताले तिरेको करको चाहीँ रिटर्न चाहिन्छ कि चाहिँदैन ? सबै नेपाली जनताको समान हक हो कि होइन?,’ प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘यदि समान हक छ भने म सोध्न चाहन्छु– अहिलेको १९ खर्ब ६४ अर्ब रुपैयाँलाई यदि १६५ निर्वाचन क्षेत्रमा बाँडियो भने ११ अर्ब ९० करोड रुपैयाँ हुन्छ। यस्तो अत्याचार किन भयो? नेताजीको क्षेत्रमा पूरै बजेट खन्याइयो, अरु सांसदहरु हेरेको हेर्यैजस्तो भयो। नेपाली जनताले तिरेको कर नेताहरुको भुँडी भर्नलाई हो? जनताहरु हेरेको हेर्यै हुने नेताजीहरु मालामाल हुने। यो असमानता देखिएको छ। सरकारले न्याय गरिरहेको छ कि अपराध गरिराखेको छ? नेपाली जनतासँग पैसा लिने रिटर्न नदिने?’

नेपाल चलाउन नेता बनेको कि नेपाल बेच्न नेता बनेको भन्ने प्रश्न खडा भएको उनले बताए। नेपाली जनताले अहिले साँच्चै नेतृत्व हो कि चोर हो भनेर खोजिरहेको उनले बताए।

जनताले सबै दिनुपर्ने र बजेटभने एक ठाउँमा मात्रै खन्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए। नेता साहले नेतृत्वलाई चोरको संज्ञा दिँदै चोरहरुको हातबाट देशलाई मुक्त गराउन आवश्यक भएको बताए।

‘हाम्रो उत्पादनहरु महँगो भयो। हाम्रो व्यवसायहरु चौपट भइराखेको छ। किन भने करको कर छ, कर आतंक छ। जनताले सबै दिनुपर्ने, चोरहरुको हातबाट देशलाई मुक्त गराउन जरुरी छ। कुशल नेतृत्व भयो भने बेइमानी हुँदैन,’ आजपा अध्यक्ष साहले भने।

यस्तै उनले सम्मानिय सदनको गरिमामाथि उठाउन उनले सम्भामुखसंग आग्रह समेत गरे। दिनलाई रात बनाउने काम भइरहेको बताउँदै उनले सरकारको असमान बजेट वितरण जनताको हितमा नभएको टिप्पणी गरेका छन्। जल, जंगल, नदिखोलामा नेता र नेताका आसेपासेहरुको लुट चलिरहेको समेत उनले बताए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ