शुक्रबार, २९ चैत २०८१

फोहोर व्यवस्थापन श्रमिकलाई उद्यमशीलता तालिम


काठमाडौं । फोहोर व्यवस्थापनमा संलग्न श्रमिकहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले संयुक्त सफाइ जागरण संस्था द्वारा आयोजित १५ दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । राजा फाउन्डेसन, फ्रान्सको सहयोगमा आयोजित उक्त तालिममा  कपडाबाट जुत्ता तथा चप्पल बनाउने प्रविधि सिकाइयो । 

तालिम मार्च ११ देखि २५ सम्म सञ्चालनमा आएको थियो । तालिमका  सहभागी सविना घलान मोक्तानले तालिमपछि आत्मविश्वास अभिवृद्धि भएको अनुभव गर्दै भनिन्, ‘अब हामी फोहोरमैला व्यवस्थापन मात्र होइन, त्यसैबाट आम्दानी पनि गर्न सक्छौं ।’

तालिमपछि प्रशिक्षार्थीहरूको उत्पादित सामान बजारसम्म पुर्याउन काठमाडौं महानगरपालिका वडा नं. १२ का अध्यक्ष तथा वातावरण समितिका संयोजक बालकृष्ण महर्जनले अग्रसरता लिएका छन् । उनले प्रशिक्षार्थीहरूलाई काम गर्ने ठाउँ उपलब्ध गराउनुका साथै बिक्रीका लागि आउटलेट स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

संयुक्त सफाइ जागरण संस्थाकी अध्यक्ष शान्ति तामाङका अनुसार, यो कार्यक्रम श्रमिकहरूको आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्यका साथ अघि बढाइएको हो । प्रोजेक्ट म्यानेजर जानु डंगोलका अनुसार, तालिमपछि उत्पादित सामानलाई व्यापारिक रूपमा स्थापित गर्ने योजनासमेत बनाइएको छ ।

महानगरपालिकाले ग्रीन इकोनोमी प्रवद्र्धन गर्दै डम्पिङ साइटमा फोहोर न्यूनिकरण गर्ने नीति अवलम्बन गरिरहेको महर्जनले बताए । फोहोरको १३ प्रतिशत हिस्सा कपडाजन्य वस्तुले ओगटेको हुँदा, त्यसको पुनः प्रयोग गरी आम्दानीको स्रोत बनाउन सकिनेछ । यस तालिमले फोहोर व्यवस्थापनलाई अवसर सिर्जना गर्ने माध्यमका रूपमा रूपान्तरण गर्ने सम्भावना देखाएको छ । संयुक्त सफाइ जागरण संस्थाको यो पहल श्रमिकहरूको जीवनस्तर उकास्न र उद्यमशीलता प्रवद्र्धन गर्न महत्वपूर्ण कदम सावित हुने अपेक्षा गरिएको छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ