- साउन ०५, २०८१
८४ वर्षको उमेरमा पनि श्यामबहादुर थापाको उर्जा लोभ लाग्दो छ । हिँउद होस् या बर्खा बिहान ४ बजे ओछ्यान छाडिसक्छन् । तातो पानीले नुहाएको चित्त बुझ्दैन । बानेश्वरबाट हिँड्दै पशुपतिनाथ परिसर पुग्छन् । मन्दिरको दर्शन र मर्निङ वाक पनि । एकपन्थ दुई काम ।
हरेक दिन कम्तिमा ८ किलोमिटरको हिँडाइले शरीरमा उर्जा आइरहेको अनुभव गरेका खड्का भन्छन्, ‘यही पशुपति आउने-जाने क्रममै मर्न पाउँ भनेर भगवानसँग प्रार्थना गर्ने गरेको छु ।’
उनै खड्कासँग समय आवाज संवाददाताले गरेको कुराकानी सम्पादीत अंश:
बिहान कति बजे उठ्नुहुन्छ ?
बिहान ४ देखि साँढे ४ बजेसम्म उठिसक्छु । मलाई तातो पानीले नुहाउन मन पर्दैन । जुनसुकै याममा पनि चिसो पानीले नुहाउँछु र हिँड्दै पशुपति जान्छु । हिँडेरै फर्किन्छु ।
दिनमा कति किलोमिटर हिँड्नुहुन्छ ?
हरेक दिन कम्तिमा ७/८ किलोमिटर हिँडेकै हुन्छु ।
कति वर्ष भयो यसरी हिँडेर पशुपति जान थाल्नुभएकाे ?
नियमित जान थालेको २०५६ सालदेखि हो । अफिस छउन्जेल कहिलेकाहीँ मात्रै जान्थेँ, रिटायर्ड भएपछि नियमित जान थालेँ । साँच्चै भन्ने हो भने सुरुमा सुगर देखिएपछि दैनिक हिँड्न थालेँ ।
सुगर कहिले देखियो ?
सुगर पनि रिटायर्ड भएपछि नै देखियो । आँपको सिजन थियो । मलाई आँप असाध्यै मनपर्ने । बिहान पनि आँप, दिउँसो पनि आँप, बेलुका पनि आँप खाएपछि सुगर देखियो । डाक्टरलाई देखाएँ, ३६० रहेछ । डाक्टरले मलाई सोधे- ‘हिँडेर घटाउनुहुन्छ कि औषधि खानुहुन्छ ?’ मैले भनेँ- ‘म औषधि खान्न हिँडेरै ठिक पार्छु ।’
ऊबेलामा सरकारी जागिरमा कसरी जोडिनुभयो ?
वि.सं २०२१ सालमा सरकारले भूमि सुधार लागू गर्यो । म आईए पास गरेर घरमै बसिरहेको थिएँ । एक जना साथीले भन्यो- ‘भूमि सुधारमा खरदार मागेको छ । जागिर खाने भए जा ।’ एउटा साधारण निवेदन लेखेर गएँ । जागिर मिलि हाल्यो ।
पहिलो पोष्टिङ कहाँ भयो ?
ललितपुरको चौघरे भन्ने ठाउँमा पठायो । त्यहाँ मोहीको लागत लिनुपर्ने थियो । चौघरेबाट फर्केपछि इमाडोल । अनि २०२४ सालमा चाहिँ मकवानपुर गएँ । हेटौंडामा केही वर्ष बसेँ ।
तलब कति थियो ?
तलब १२० रुपैयाँ थियो । भत्ता चाहिँ १५० रुपैयाँ थियो ।
डेरामा बस्नुभयो कि घरबाटै हिँड्नुभयो ?
त्यतिबेला डेरा बस्ने भन्ने चलनै थिएन । अहिले एअरपोर्ट भएको ठाउँमा घर थियो । घरबाट हिँडेर जान्थेँ । हिँड्नुबाहेकको विकल्प थिएन ।
बाटो कताबाट थियो ?
एअरपोर्टबाट बागमती तरेर जान्थेँ ।
सरकारी जागिर खानेको सान त त्यतिबेला छुट्टै थियो होला नि ?
त्यतिबेला १६ जिल्लाका लागि ४ सय जना जति खरदार मागेको थियो । २०२१ साल कात्तिक २७ गतेको नियुक्ति हो मेरो । सान त के हुनु जे होस् रमाइलै थियो ।
जागिरको सिलसिलामा कति जिल्ला पुग्नुभयो ?
२०३१ सालसम्म चाहिँ भूमि सुधारमै काम गरेँ । ०३२ सालमा सुब्बाका लागि खुल्यो । पास भएँ, महालेखामा पोष्टिङ भएँ । काम गर्ने सिलसिलामा ६५ जिल्ला घुमेँ । ०३२ सालदेखि ०५५ सालसम्म त्यहीँ काम गरेँ । महालेखाबाटै रिटायर्ड भएँ ।
महालेखा कार्यालयमा बसेर हेर्दा नेपालको प्रशासनिक संयन्त्र कस्तो देखिन्छ ?
पहिला त अलिअलि मात्रै बिग्रिएको थियो । अहिले सबै ध्वस्त छ । सबैतिर भ्रष्टकै बोलवाला छ । महालेखामै काम गर्दा अडिट गर्नका लागि मन्त्रालयमा जान्थेँ । हाम्रो पालामा कस्तो थियो भने एक कप चिया खान पनि डर लाग्थ्यो । म सुब्बा थिएँ । मन्त्रालयमा कामका लागि जाँदा चिया खाऊँ भन्थे, सेक्सन अफिसर आएर कारबाही गर्लान् कि भन्ने लाग्थ्यो र मैले चिया पनि खाइनँ ।
अहिले कस्तो छ ?
अहिले त खुल्लम खुल्ला ।
कसरी यस्तो भयो ?
कुनै पनि कार्यालय राम्रो हुनका लागि सबैभन्दा पहिला त्यो कार्यालयको नेतृत्व गर्ने व्यक्ति राम्रो हुनुपर्छ । हाकिमै खराब नियतको परेपछि तल राम्रो हुने कुरै भएन । हाम्रो पालामा हाकिम पनि डराउँथे, हाकिम मातहतका कर्मचारी पनि डराउँथे ।
भनेपछि पहिला पहिला हाकिमसँग निकै डराउँथे ?
पहिला हाकिम पनि डराउँथे हाकिमसँग पनि डराउँथे । तर, अहिले फाइल खोल्नेबित्तिकै हाम्रो भाग कति छुट्याएको छ भनेर सोध्ने चलन छ भन्ने सुनेको छु ।
सरकारी कर्मचारीको इज्जत कस्तो थियो ?
समाजले एउटा सम्मानको नजरले हेर्थे । हामी अडिटका लागि बाहिर जाँदा एक जना कार्यालय सहयोगी सँगै लिएर जान्थ्यौँ । हामी जहाँ पुग्थ्यौँ, आफैँ खाना बनाएर खान्थ्यौँ । टिएडिए पनि धेरै थिएन । तर, अहिले सामाजिक प्रतिष्ठा घटेको छ ।
रिटायर्डपछि सरकारी कामका लागि जाँदाको अनुभव ?
रमाइलो भएको छ । म भूमि सुधारमा काम गरेको मान्छे । मालपोतमा काम परेर गएँ । पहिला मसँगै काम गरेका साथी रहेछन् । सिधै पैसा माग्न त सकेनन् । ‘खाजा खुवाउने होइन भनेर भने ।’ मैले ल मिलाएर खाऊ भनेर पैसा दिएँ । साथी भनेर के गर्नु, खाजा खुवाएन भने काम नहोला भन्ने डर ।
बाल्यकालको पनि कुरा गरौं न कस्तो थियो ?
हाम्रो घर पुरानो एअरपोर्टको दक्षिणपट्टी । तीनतले घर थियो । चार रोपनीको कम्पाउण्ड । २००६ सालमा हाम्रो घर भएको ठाउँमा एअरपोर्ट बन्ने भयो । हामी उठ्यौँ । घर र जग्गा गरेर ७२ सय आयो । म सानै थिएँ । पूर्वपट्टी जग्गा बाँकी थियो । बाले त्यहाँ घर बनाउनुभयो । जग्गा गएपछि उत्पादन हुने अन्न पनि घट्यो । घर बनाउँदा र किनेर खाँदा लगभग त्यो पैसा सकियो । त्यहीबेलामा बाले गुहेश्वरीमा ४ सय रुपैयाँमा दुई रोपनी जग्गा किन्नुभएको थियो । त्यो अहिले पनि छ । सुरुमा त सानो एअरपोर्ट बनेको थियो । पछि २०१७ र ०३९ सालमा हामी त्यो क्षेत्रबाट पूर्ण रुपमा हट्यौँ ।
एअरपोर्टमा छिमेकी कति थिए ?
२५/३० घर थिए ।
स्कुले जीवन कस्तो थियो ?
गुहेश्वरी आदर्श स्कुल थियो । घर नजिकै भएकाले ४ कक्षासम्म त्यहीँ पढेँ । स्कुल जानुअघि मामाघर डिल्लीबजारमा बसेको थिएँ । मामाघरमा हुँदा मैले घरमै बसेर पढिसकेको थिएँ, स्कुल गएपछि त्यही कुरा दोहोर्याएर पढेँ ।
मैले गुहेश्वरी स्कुल पढ्नुको कारण अर्को पनि छ । एअरपोर्टमा पहिलो पटक ट्विनोटर विमान आयो । सिंगै काठमाडौँका मान्छे एअरपोर्ट पुगे, हवाइजहाज हेर्नका लागि । म पनि गएँ । घर नजिकै पुगेपछि मामाघर फर्किनँ । गुहेश्वरी आदर्शमा चार कक्षासम्म पढेँ । पाँच कक्षादेखि पद्मोदय पढ्न थालेँ । स्कुल जान घरबाट हिँडेपछि १ घन्टा लाग्यो ।
खेल्ने कुरा के थियो ?
सबैभन्दा प्रिय डण्डीबियो । कतै बालुवाको थुप्रो देख्यौँ भने हाम फालिहाल्थ्यौं । उपद्राे गर्न मन लाग्थ्यो ।
स्कुलमा खाजा लैजाने चलन थियो ?
खाजा, ड्रेस केही पनि थिएन । बाले बाटो खर्च भनेर दुई पैसा दिनुहुन्थ्यो । कमिज, सुरुवाल लगाएर जान्थ्यौँ । किताव बोक्न झोला चाहिँदैन थियो ।
के आउँथ्याे दुई पैसामा ?
दुई पैसाले एक चौथाई केराउ आउँथ्यो । पुतलीसडकमा तिलौरी बनाउने पसल थियो । एक पैसामा एकबित्ता भन्दा लामो तिलौरी दिन्थ्यो । त्यही खान्थ्यौँ ।
किताबमा गाता हाल्ने चलन थियो कि थिएन ?
फूलमार चुरोटको पेटी पाइन्थ्यो, एक पैसामा त्यसैको गाता हाल्थ्यौैँ ।
अहिलेका केटाकेटीको जीवनशैली कस्तो लाग्छ ?
कति हो कति फरक । केही कुराको पनि तुलनै हुन्न । हाम्रो पालामा हुने खानेले च्युरा खान्थे । हामी मकै खान्थ्यौँ । अहिले त जंक फुडले सबैलाई बिगार्यो ।
घरमा रेडियो कहिले किन्नुभो ?
२०२२/२३ सालमा तीन सयमा पानसोनिक रेडियो किनेँ । विविध भारती भन्ने कार्यक्रम खुब सुनिन्थ्यो । किनकी त्यसमा गीत आउँथ्यो ।
रेडियो काँधमा भिरेर हिँड्नुभयो ?
त्यसरी हिँडिनँ । हामीले धेरैपछि किन्यौँ रेडियो । रेडियो त ११/१२ सालमै आएको थियो । तर, हाम्रो घरमा थिएन । अलि धनी मानिससँग थियो । उनीहरु बोकेर पनि हिँड्थे । रेडियो सुन्नै भनेर चाहिँ कसैको घर गइनँ । फिल्म चाहिँ हेरेको छु । २००६ सालतिर काँडाघारीभन्दा माथि मुखियाको दरबार थियो । त्यहीँ मुक फिल्म देखाउँथे । पहिलो पटक त्यहीँ गएर फिल्म हेरेँ ।
घडी चाहिँ ?
१८ वर्षको थिएँ । माइला बाले वोष्टर्न वाच ल्याइदिनुभयो । त्यही बाँधे ।
राजनीतिलाई कसरी हेर्नुहुन्छ ?
म राजनीति शास्त्रकै विद्यार्थी हुँ । तर, कहिल्यै राजनीतिमा रुचि जागेन । पञ्चायतकालमा प्रधानपञ्चको चुनाव हुँदा बाआमाले सोध्नुहुन्थ्यो- यसपालि कसलाई भोट दिने ? मैले कहिल्यै पनि यसलाई दिनुस्, उसलाई नदिनुस् भनिनँ। सबभन्दा कम फटाहा जो छ, उसैलाई दिनु भन्थेँ ।
तपाईं त काठमाडौँको रैथाने । काठमाडौं कस्तो हुनुपर्थ्याे । कस्तो भयो ?
उपत्यकाको माटो अनुरुप यहाँ खेती गर्ने जमिन हुनुपर्थ्याे तर, मान्छेले घरको खेती गरे । यो काठमाडौँका लागि राम्रो होइन । प्रगतिकै कुरा गर्ने हो भने काठमाडौंका मान्छेले खासै उन्नति गरेन । बाहिरबाट आएकाले गरे । यसो हुनुमा काठमाडाैँबासीलाई अभाव महसुस् भएन । बाले बनाएको घर छँदैछ । पकाएर खान दिने आमा छँदैछ भन्ने भयो ।
तपाईंलाई अब गर्न मन लागेको कुरा ?
केही छैन । ०८४ वर्षको भएँ । अब गर्न बाँकी केही छैन र सक्दिनँ पनि । पशुपति जानेआउने क्रममै मर्न पाए आनन्द हुने थियो । भगवानसँग पनि यही कुराकाे प्रार्थना गर्ने गरेको छु ।
टिप्पणीहरू: