शुक्रबार, ०५ भदौ २०८३

गरिमा चौधरीको हत्या घटनामा दोषीलाई कारबाही माग


काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले बालबालिका तथा महिलामाथि हुने हिंसा नियन्त्रण, बालबालिकाको सुरक्षा सुनिश्चितता तथा यस्ता घटनाप्रति सरकार र सुरक्षा निकाय गम्भीर हुनुपर्नेमा जोड दिए ।
   
सांसद पूजा चौधरीले बालिकाको हत्या घटनामा संलग्नलाई कारबाही गर्दै बालबालिका तथा महिलामाथिको हिंसा रोक्न र बालिकाको सुरक्षा सुनिश्चित गर्न माग गरिन् । 
   
सांसद रेणु चन्दले बालिका हराएको उजुरीप्रति गम्भीर नभएको भन्दै सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै हत्या घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरिन् । सांसद विष्णुदेवी पुडासैनीले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडाभन्दा सजाय दिन माग गरिन् ।
 
सांसद मनरुपा शर्माले वैदेशिक रोजगारीका क्रममा दुबईमा मृत्यु भएका पर्वतका नारायण सार्कीको शव तत्काल नेपाल ल्याउन तथा परिवारलाई राहत उपलब्ध गराउन माग गरिन् ।
   
सांसद रुक्मिणी कोइरालाले नयाँ बजेट र कार्यक्रमको प्रभाव जनताको दैनिकीमा देखिनुपर्ने बताउँदै कृषकले उचित मूल्य पाउने, महिलाको सुरक्षा हुने र युवालाई रोजगारीको व्यवस्था हुने गरी काम गर्न सुझाव दिइन् ।
   
यस्तै शून्य समयमा सांसदहरुले बाढी पहिरोबाट बिस्थापितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानार्कषण गराए ।
   
सांसद कृष्णबहादुर रोकायाले रोल्पा र बाजुरामा बाढी तथा पहिरोबाट भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै विस्थापितको उद्धार, राहत तथा जोखिमयुक्त बस्तीको क्षति मूल्याङ्कन गरी राहतको व्यवस्था गर्न माग गरे ।
   
सांसद घनश्याम रिजालले दीपा नेपालीको सत्याग्रह तथा ‘कोठा खाली छ सरकार’ नारासहित भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराउँदै वार्तामार्फत समस्या समाधान गर्न सुझाब प्रस्तुत गरे ।  
   
सांसद पदमबहादुर परियारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको परिवारसँग सरकारले गरेको सम्झौता पूर्ण कार्यान्वयन गर्न तथा उहाँलाई सहिद घोषणा गर्न माग गरे ।
 
सांसद विष्णुकुमारी सापकोटाले रोल्पाको थवाङमा पहिरोबाट विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा सिमराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा दोषीलाई कारबाही गर्न माग गरिन् ।

सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीहरुको स्वकीय सचिवालयमा कर्मचारीको सङ्ख्या बढाइएकोप्रति असन्तुष्टि जनाउँदै कटौती गर्न माग गरिन् । राष्ट्रियसभाको बैठक जारी छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ