आइतबार, ०७ मंसिर २०८२

नेपाल ट्रष्टका पूर्वसचिव कार्कीलाई ८ दिन हिरासतमा राख्न अदालतकाे अनुमति


काठमाडौँ। नेपाल ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीमाथि अनुसन्धान गर्न ८ दिन म्याद थप भएको छ।

जिल्ला अदालत काठमाडौंले ठगी तथा आपराधिक विश्वासघातको कसुरमा पक्राउ परेका कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अनुमति दिएको हाे।

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई शनिबार पक्राउ गरिएकाे थियाे।

उनको संलग्नतामा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने/लिने करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नं ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता नं. ४६०५ समेत थपगरी लिजमा दिने/लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय र आधारविना बद्नियतपूर्वक नेपाल ट्रष्टका नाममा रहेको जग्गा बोट मोडलका लागि निर्माण अवधि तीन वर्षसमेत तोकी ३० वर्षका लागि लिजमा दिने/लिने सम्झौता गरेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

विसं २०७४ जेठ १४ गते नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानिनोक्सानी हुनेगरी उक्त करार सम्झौता भएको पाइएको उनले बताए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ