- असार ०७, २०८०
काठमाडौं । संघीय निजामती विधेयकमा २ वर्ष ‘कुलिङ पिरियड’ हट्ने सम्भावना बढेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुलिङ पिरियडको पक्षमा रहे पनि प्रधानमन्त्री ओली हटाउने पक्षमा छन् ।
मुख्यसचिव एकनारायण अर्यालको सुझाब अनुसार प्रधानमन्त्री ओली कुलिङ पिरियडको विपक्षमा उभिएका हुन् । देउवा र प्रचण्डलाई पनि मुख्यसचिव अर्यालले कन्भिन्स गर्ने भएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा पारित गर्ने भनिएको उक्त विधेयक १७ गतेपछि मात्रै कार्यसूचीमा राखिएको छ । रास्वपा र राप्रपाको संसद अवरोधका कारण कार्यसूची पछि राखिएको भनिए पनि खेल अर्कै रहेको कांग्रेसका एक नेताले जानकारी दिए । ‘देउवा र प्रचण्डलाई कन्भिन्स गर्न केही दिन लाग्ने भन्दै मुख्यसचिव अर्यालको योजनामा अलि पछि राखिएको हो ।’ उनले भने ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेर यो विधेयक संसदमा पेस भएको छ । मुख्य सचिव अर्याललगायत नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरुले असन्तुष्टि जनाउदै आएका छन् ।
उनीहरुले प्रमुख दलका सवै पार्टीका शीर्ष नेतृत्वमा घरदैलो गर्दै कुलिङ पिरियडको विपक्षमा लबिङ गरेका थिए । कुलिङ पिरियडको व्यवस्था नहुँदा उच्च तहका कर्मचारीले अवकासको केही दिन हुँदैमा राजीनामा दिएर राजनीतिक नियुक्ति लिने प्रवृत्ति बढेको छ । उक्त प्रवृत्तिको चर्को आलोचना हुँदै आएको छ ।
टिप्पणीहरू: