मङ्गलबार, ०५ साउन २०८३

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने


काठमाडौँ । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको छ ? आफू ठगिएको थाहा पाएपछि उजुरीको कागजात बोकी वैदेशिक रोजगार विभागमा धाउनुभएको छ वा धाउनुबारे सोच्नुभएको छ ? यदि त्यसो हो भने अब उजुरीका लागि कार्यालय  धाउनुपर्ने अवस्था छैन । 

सरकारले अनलाइनमार्फत नै उजुरी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन पोर्टलमार्फत अब घरमै बसेर ठगीसम्बन्धी उजुरी दिन सकिनेभएको छ । अनलाइनमार्फत उजुरी दिने मात्रै होइन, त्यो उजुरीको कारबाही प्रक्रिया कहाँ पुगेको छ भन्ने समेतको विस्तृत जानकारी हातको अनलाइनबाटै थाहा पाइने भएको छ । 

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा ठगीएका श्रमिकहरुको समस्या समाधान गर्न अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको हो ।

यही साउन १ गतेदेखि सुरु भएको उक्त पोर्टलबारे जानकारी लिन श्रममन्त्री रामजी यादव आज वैदेशिक रोजगार विभाग पुगेका थिए । वैदेशिक रोजगारको प्रलोभनमा परी ठगिएका श्रमिकहरूको समस्यालाई सहज रूपमा सम्बोधन गर्न अनलाइन पोर्टलको सेवा सुरु गरिएको मन्त्री यादवले बताए। 

मन्त्री यादव विभागमै पुगी पीडित र सेवाग्राहीहरु सँग भेटेर ठगी हुनबाट जोगीन र ठगी गरेका व्यक्ति वा घटनाको विवरण अनलाइन उजुरी गर्न समेत  आग्रह  गरे । 

मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन उजुरी पोर्टलमा पीडितले आफ्नो मोबाइल वा कम्प्युटरबाट पोर्टलमा गई आवश्यक प्रमाणहरू सङ्कलन गरेर उजुरी पेस गर्नुपर्छ । पीडितले अनलाइनमार्फत उजुरी पेस गरेपछि विभागको टोलीले त्यसको अध्ययन गरी दर्ता प्रक्रिया अगाडि बढाउनुका साथै उजुरी दर्ता हुनासाथ सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज र इमेलमार्फत जानकारी जाने व्यवस्था समेत मिलाइएको छ । 

उक्त सन्देशमा उपलब्ध गराइएको ‘ट्रयाकिङ कोड’ प्रयोग गरी पीडितले जुनसुकै समयमा आफ्नो उजुरीको अवस्था र प्रगतिबारे जानकारी लिन सक्ने व्यवस्था उक्त प्रणालीमा छ । 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ