- असार ०६, २०८०
नयाँदिल्ली । भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर प्रदर्शन चर्किरहेका बेला युवा नेतृत्वको कक्रोच जनता पार्टी (सिजेपी) का प्रमुख नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ । पार्टीका नेताहरूले मङ्गलबार नयाँदिल्लीस्थित जन्तर मन्तरमा लगाइएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको विपक्षीहरूको आरोप छ । उनीहरूले निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै पछिल्ला दिनमा सुरक्षा प्रतिबन्ध उल्लङ्घन गरेर प्रदर्शन गरिरहेका छन् । यद्यपि, निर्वाचन आयोगले अनियमितता भएको आरोप अस्वीकार गरेको छ ।
दिल्ली प्रहरीले सोमबार जन्तर मन्तरलाई आधिकारिक प्रदर्शनस्थलको सूचीबाट हटाइएको जनाएको थियो । राजधानीको केन्द्रमा रहेको उक्त स्थललाई पहेँलो धातुका बारले घेरेर केही दिनदेखि बन्द गरिएको थियो र त्यहाँ ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो
।
तर, मङ्गलबार सिजेपी नेता अभिजीत दिप्केले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा प्रदर्शनकारीहरू सुरक्षा बार पार गर्दै जन्तर मन्तरभित्र प्रवेश गरी राष्ट्रिय झण्डा फहराएको देखिन्छ । प्रहरीले उनीहरूलाई पछ्याउँदै नियन्त्रणमा लिएको थियो ।
सिजेपीले सामाजिक सञ्जालमा आफ्ना नेता सौरभ दास, आशुतोष रङ्का र अजिङ्क्य सिन्देसहितका नेताहरूलाई प्रहरीले हिरासतमा लिएको जनाएको छ । दिप्केले प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै प्रतिरोधलाई रोक्न नसकिने बताएका छन् ।
दिल्ली प्रहरीले जन्तर मन्तरको विकल्पका रूपमा सोमबार तीनवटा आधिकारिक प्रदर्शनस्थल तोकेको थियो । दशकौँदेखि प्रदर्शन हुँदै आएको जन्तर मन्तरमा सिजेपीले पनि यसअघि आन्दोलन गरेको थियो । उक्त पार्टीको प्रदर्शनपछि परीक्षामा अनियमितता भएको विवादका कारण गत जुलाईमा शिक्षामन्त्रीले पद छाडेका थिए ।
यसैबीच, प्रधानमन्त्री मोदीले मङ्गलबार नयाँदिल्लीमा आयोजित व्यापार सम्मेलनमा भारतलाई ‘लोकतन्त्रकी जननी’ बताएका छन् । उनले देशमा विभिन्न विषयमा खुला बहस हुने र फरक दृष्टिकोणमाथि छलफल गरिने उल्लेख गरे । तर, उनले जारी विरोध प्रदर्शनबारे प्रत्यक्ष टिप्पणी गरेनन् ।
टिप्पणीहरू: