सोमबार, ०८ पुस २०८१

छोरीको बलात्कारपछि हत्या, छोरा वेपत्ता


काठमाडौं, ३ पुस । सप्तरीका वडा सदस्य धिरेन्द्रकुमार साह पक्राउ परेपछि उनका कर्तुत सार्वजनिक हुन थालेको छ । गत मंसिर १६ मा सम्पन्न उप निर्वाचनमा साह जनता समाजवादी पार्टी नेपालबाट वडा सदस्य निर्वाचित भएका थिए । सपथग्रहण स्लथबाटै उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनी माथी अपहरण, बतात्कार र हत्या आरोप छ ।

सप्तरी डाक्नेश्वरी नगरपालिका–१ कविलासा गाउँकी ५५ वर्षीया चन्दरदेवी साहले धिरेन्द्र साहले आफ्नी १९ वर्षीया छोरी सन्तोषीको अपहरण, बलात्कार र हत्या तथा १७ वर्षीय छोरा आशिषलाई बेपत्ता पारेको आरोप लगाएकी छिन् ।

सन्तोषीको बलात्कारपछि हत्या तथा आशिषलाई बेपत्ता बनाएको ३ वर्ष पुरानो घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरपछि मंगलबार सप्तरी सदरमुकाम राजविराज आएकी उनले सञ्चारकर्मीसँग ‘दोषीमाथि कडा कारबाही हुनुपर्ने’ माग गरेकी हुन् ।

प्रहरीले आरोपीमध्येका साहलाई ११ दिनअघि पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार पक्राउ परेका साहमाथि अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणी र कसुर ज्यानलगायत मुद्दामा सप्तरी जिल्ला अदालतबाट १०–१० दिन गरी दुईपटक म्याद थपी अनुसन्धान कार्य भइरहेको छ ।

प्रहरीका अनुसार १७ साउन २०७९ मा भएको सन्तोषीको अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानलगायत अपराध गरेका साहसहितका केही व्यक्तिमाथि आरोप छ ।

सो अपराधमा संलग्न आरोपीविरुद्ध पीडित परिवारद्वारा १९ साउन २०७९ मा इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो । मुद्दा दर्ता भएपश्चात् १२ चैत २०८० मा उच्च अदाललत जनकपुर–राजविराज इजलासबाट परमादेश जारी भएको प्रहरीको भनाइ छ । १५ साउन २०८१ मा प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि साहलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । घटनाका अन्य आरोपीको खोजी कार्य भइरहेको छ ।

मृतक सन्तोषीकी आमा चन्दर देवीका अनुसार घटनाको केही दिनपछि १७ वर्षीय छोरा आशिष बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ । छोरीको अपहरण, बलात्कार र हत्या घटना प्रकरणमा संलग्न रहेकाले घटना मिलापत्र गर्न धिरेन्द्रले आर्थिक प्रलोभन देखाउनुका साथै मुद्दा फिर्ता लिन धम्कीपूर्ण दबाब दिने गरेको उनले बताइन् । आफ्नो छोरालाई पनि सोही समूहले बेपत्ता बनाएको उनको दावी छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ