- असार ०७, २०८०
काठमाडौं, २३ पुस । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन् ।
तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले भूकम्पबाट ज्यान जानेको संख्या ५३ पुगेको जानकारी दिएको हो । यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् ।
उनले सम्भावित थप क्षति रोक्न, प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनर्स्थापित गर्न र घटनापछिको कामलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न निर्देशन दिए ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।
टिप्पणीहरू: