- असार ०६, २०८०
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमबासी बस्तीमा विना तयारी डोजर चलाएर सरकारले नागरिकको बाँच्ने भरोसा नै भत्काइदिएको बताएका छन्।
मङ्गलबार प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै उनले सरकारको ‘स्टन्ट’ ले गर्दा हजारौँ नागरिक बिचल्लीमा परेको उल्लेख गरे। आङ्देम्बेले सुकुमबासी बस्ती हटाउने क्रममा तीन जना नागरिकले ज्यान गुमाएको बताए । मनोहरा बस्तीमा डोजर चल्नुअघि १९ वर्षीय रविन तामाङले गरेको आत्महत्या, बल्खुमा घर भत्किएपछि ६१ वर्षीय इन्द्रबहादुर राई बागमतीमा मृत फेला परेको र कीर्तिपुरको होल्डिङ सेन्टरमा ३६ वर्षीय भेषराज दर्जीको उपचार अभावमा भएको मृत्युलाई उनले राज्यको अमानवीय व्यवहारको परिणाम भएकाे बताए ।
‘डोजरले टहरा मात्र भत्काएको छैन, कसैको बाँच्ने भरोसा भत्काएको छ र कसैको परिवारको सहारा खोसेको छ,’ उनले भने, ‘होल्डिङ सेन्टरमा सुत्केरी र बालबालिका भोकै बस्नुपर्ने अवस्था हुनु राज्यका लागि लज्जास्पद विषय हो।’
आङ्देम्बेले सुनसरी, सिरहा, धनुषा र पर्सामा भएका घटनामा सरकारले नागरिकको ज्यानै जाने गरी गोली चलाएकोमा आपत्ति जनाए । उनले यी घटनाहरूको सत्यतथ्य छानबिनका लागि ‘न्यायिक छानबिन समिति’ गठन गर्न माग गरे ।
आङ्देम्बेले संसद्मार्फत सरकारलाई सुकुमबासीप्रति गरिएको अमानवीय व्यवहारका लागि सरकारले माफी मागुन् र तत्काल सम्मानजनक व्यवस्थापन गर्न आग्रह गरेको छ ।
टिप्पणीहरू: