- असार ०७, २०८०
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा महिलाको हत्यापछि पुरुषले आत्महत्या गरेको निष्कर्ष प्रहरीले निकालेको छ ।
विवाहको फोटो भिडियो खिच्ने काम गर्दै आएका परमनारायण र अञ्जना तामाङको शव परमनारायणकै निवासमा भेटिएको थियो । अञ्जनाको शव दोस्रो तलाको कोठाको सोफामा भेटिएको थियो भने परमनारायणको शव अञ्जना मृत भेटिएको सोफानजिकै भुइँमा थियो ।
अञ्जनाको टाउकोमा हम्मर जस्तो सामानले हिर्काको आशंका गर्दै प्रहरीले भनेको छ ‘घटनाको प्रकृति हेर्दा परमनारायणले पहिला अञ्जना हत्या गरेर आत्महत्या गरे जस्तो देखिन्छ ।
भित्रबाट लक भएको घरभित्र दुई जना व्यक्ति नै मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । यति मात्र होइन ढोका बाहिरबाट समेत ताला लगाइएको थियो ।
अनुसन्धानमा जुटेका प्रहरीका अनुसार एउटा ढोकामा बाहिरबाट चाबी लगाएर अर्को ढोका अथवा झ्यालबाट परमनारायण भित्र प्रवेश गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
अहिलेसम्मको अनुसन्धानबाट परमनारायणले अञ्जनाको हत्या गरेपछि आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ । घटनास्थलमा तीनवटा किटनाशक विषादीका बट्टा पनि भेटिएको छ । तीनवटा विषका बट्टा भेटिनु र दुईवटा खाली हुनुले अञ्जनाको हत्यापछि परमनारायणले विष सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
परमनारायण करिब डेढ वर्षदेखि सो घरमा भाडामा बस्दै आएका थिए । पेसाले फोटोग्राफर उनले सोही घरमा एउटा अफिससमेत राखेर फोटाग्राफीको काम गर्दै आएका थिए । उनी विवाह, ब्रतबन्ध, पास्नीहरूको फोटो खिच्ने गर्थे ।
परमनारायणकी श्रीमती फ्रान्समा बस्छिन् उनको एक छोरीको विवाहसमेत भइसकेको छ ।
टिप्पणीहरू: