बुधबार, ०९ पुस २०८२

कलाकारले लिने महंगाे पारिश्रमिकले थिचिँदैछ बलिउड


निजी ट्रेलरको फ्लीट, व्यक्तिगत शेफ, ठूला सहयोगी टोली र विलासी सुविधाजस्ता बलिउडका शीर्ष कलाकारको बढ्दो मागले फिल्म निर्माण लागत आकासिएको छ । यसले भारतीय फिल्म उद्योगको वित्तीय संरचनामा गहिरो दबाब सिर्जना गरिरहेको उद्योगका जानकारहरूले बताएका छन् ।

बलिउड लामो समयदेखि नै बक्स अफिसमा अनिश्चित रहँदै आएको छ । महामारीले अवस्था झन् जटिल बनाएको भए पनि धेरै निर्माता र वितरकहरूका अनुसार आज देखिएको घाटा रचनात्मक असफलताभन्दा बढी स्टार शुल्क र तिनसँग जोडिएका अतिरिक्त खर्चका कारण भएको हो । निर्माता रमेश तौरानीका अनुसार समस्या उत्पादन लागतभन्दा पनि कलाकारले लिने पारिश्रमिक र सुविधामा केन्द्रित छ ।

उद्योगका अनुसार आजकल अभिनेता–अभिनेत्रीहरू मेकअप आर्टिस्ट, हेयरड्रेसर, स्टाइलिस्ट, जिम प्रशिक्षक र सहायकसहित १० देखि १५ जनाको टोली लिएर सुटिङ स्थलमा पुग्ने गरेका छन् । यसका अतिरिक्त प्रथम श्रेणीको यात्रा, पाँचतारे होटल, अलग–अलग भ्यानिटी भ्यान र सीमित कार्यघण्टाजस्ता माग सामान्यजस्तै भइसकेका छन् । एक मात्र ट्रेलर भाडाको लागत नै करिब १८ हजार अमेरिकी डलरसम्म पुग्ने बताइन्छ ।

वरिष्ठ निर्माता मुकेश भट्टले विस्तारित सहयोगी टोली, महँगो यात्रा र विलासी आवासले रचनात्मक नतिजामा समानुपातिक योगदान नदिई बजेट बढाइरहेको टिप्पणी गरे। उनका अनुसार यस्ता मागहरू धेरै हदसम्म ‘अप्रिय’ बन्दै गएका छन् । व्यापार विश्लेषक राज बंसलले भने कलाकारहरूबीच सुविधामा प्रतिस्पर्धा बढ्दै जाँदा खर्च झनै बढेको बताए।

बलिउडलाई सधैँ उच्च जोखिमको उद्योग मानिँदै आए पनि अहिले स्टार–केन्द्रित लागत बक्स अफिस आम्दानीले धान्न नसक्ने स्तरमा पुगेको निर्माताहरूको भनाइ छ । महामारीपछिको समयमा स्ट्रिमिङ प्लेटफर्महरूले महँगो मूल्यमा फिल्म किन्दा केही राहत मिलेको थियो, तर ती सम्झौता घटेसँगै आम्दानी खस्कियो । यसबीच कलाकारहरूको माग भने घटेन, जसले समस्या अझै गहिरो बनायो ।

प्रतिस्पर्धी वातावरण पनि बदलिएको छ । दर्शकको रुचि परिष्कृत भएको, स्ट्रिमिङ प्लेटफर्मले विकल्प बढाएको र क्षेत्रीय सिनेमाले स्तर उकासेको भट्टको भनाइ छ । उनका अनुसार फिल्म कमजोर नभए पनि बढ्दो उत्पादन लागत, विशेष गरी स्टार शुल्कले अर्थतन्त्र असन्तुलित बनाइरहेको छ ।

अभिनेता तथा निर्माता आमिर खानले पनि यस विषयमा सार्वजनिक रूपमा आलोचना गरेका छन् । उनले एक अन्तर्वार्तामा करोडौँ कमाउने कलाकारहरूले निर्मातामाथि अत्यधिक बोझ थोपर्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै आत्मसम्मानको कुरा गरे ।

उद्योगका जानकारहरूका अनुसार स्टारहरूको मागले क्यास्केडिङ प्रभाव पार्दै अरू कलाकारलाई पनि उस्तै सुविधा माग्न प्रेरित गर्छ । यसबाट बच्न संसाधनलाई कथावस्तु र कथा कथनको गुणस्तरतर्फ केन्द्रित गर्नुपर्ने सुझाव दिइएको छ । केही निर्माताहरूले जोखिम र नाफा साझा गर्ने साझेदारी–आधारित मोडेल अपनाउनुपर्ने धारणा अघि सारेका छन् ।

सन् २०२४ मा बनेको ठूलो बजेटको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ कमजोर प्रदर्शन गरेपछि निर्माताले ऋण तिर्न सम्पत्ति बन्धक राख्नुपरेको समाचार पनि सार्वजनिक भएको थियो । यद्यपि केही अपवाद पनि छन् । अभिनेता कार्तिक आर्यनले सन् २०२३ को असफल फिल्म शहजादाका लागि आफ्नो शुल्क नलिएको उदाहरण दिइन्छ ।

कतिपय निर्माता भने समस्या उद्योगकै निर्णयमा रहेको बताउँछन् । अभिनेता तथा निर्माता विवेक वासवानीका अनुसार अत्यधिक शुल्कले बजेट बिगार्छ भने त्यस्ता स्टारसँग काम नगर्नु नै उत्तम हुन्छ । उनले नयाँ कलाकारसँग बनेका सफल फिल्महरूको उदाहरण दिँदै ‘यदि तपाईँलाई आफ्नो स्टार स्क्रिप्टभन्दा बलियो लाग्छ भने, त्यो सोच नै गलत हो’ भने ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ