शुक्रबार, २९ चैत २०८१

बाढी पहिराेमा परी पाँचथर, धनकुटा, काभ्रेमा छ जनाकाे मृत्यु


काठमाडौँ, १२ असोज । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म छ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपद्मा परी सात जना घाइते र सात जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले  जानकारी दिए।

 पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ । क्षतिको पूरा विवरण आउन बाँकी छ । बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ । पछिल्लो विपद्बाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ ।

 प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना भएका छन् । २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरु अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए ।

 काठमाडौँको नदी करिडोरका सडक बन्द

काठमाडौँको वाग्मती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन् । सबै खोलामा करिडोर सडकमा पानी उक्लने अवस्था बनेको छ ।

 प्रहरीले नदी करिडोर तथा डुबान हुनसक्ने सबै क्षेत्रमा सचेत गराएको प्रवक्ता कार्कीले जानकारी दिए । “नेपाल प्रहरीका टोली देशभरि नै परिचालित भएका छन्, प्रहरीको सम्पूर्ण ध्यान अलिहेको विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नेमा केन्द्रित छ”, उनले भने ।  मुलुकभर निरन्तर वर्षाको अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभागले भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ