बिहिबार, ०८ माघ २०८२

आयोगमा लेखककाे बयान- भदौ २३ गते कुनै हताहती नहोस् भनेर सचेत गराएकाे थिएँ (पूर्णपाठ)


काठमाडौं। पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिएका छन्।

सिंहदरबारस्थित आयोगमा सोमबार उपस्थित भएर नेपाली कांग्रेसका नेतासमेत रहेका लेखकले घटनाका सम्बन्धमा बयान दिएका हुन्।

उनले बयानमा भदाै २३ गतेको प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग गर्ने कुनै निर्णय वा योजना भएको नभएकाे उल्लेख गरेका छन्। 

पूर्वगृहमन्त्री लेखकले प्रदर्शनका क्रममा कुनै हताहती नहोस् वा कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् भनेर सचेत गराएकाे दाबी गरेका छन्।

उनले भनेका छन्:

शान्ति सुरक्षाका सम्भावित चुनौतीका सन्दर्भमा गृह मन्त्रालयको राजनीतिक नेतृत्वको हैसियतमा मन्त्री स्वयं अध्यक्ष भएको केन्द्रीय सुरक्षा समितिको बैठक मार्फत मैले मन्त्रालय र सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिसंग जानकारी लिने, परिस्थितीको विश्लेषण गर्ने र त्यस अनुरुप शान्ति सुरक्षा कायम गर्ने एवं कुनै क्षति नहोस् भनी आवश्यक सतर्कता अपनाउने र समन्वय गर्ने बिषयमा निर्देशन दिने हो । म संग सूचनाको छुट्टै श्रोत थिएन । गृह प्रशासन र सुरक्षा निकायबाट उपलब्ध हुने सूचनाको आधारमा नै मन्त्रीले निर्देशन दिने र समन्वय गर्ने हो ।

भाद्र २३ गतेको प्रदर्शनका बारेमा पनि मैले गृहमन्त्रीको हैसियतले त्यही गरेको हुँ । केन्द्रीय सुरक्षा समितिको बैठकमा आवश्यकता भन्दा बढी बल प्रयोग गर्ने कुनै निर्णय वा योजना भएको छैन । त्यसो गर्ने न कानूनी व्यवस्था छ, नत अभ्यास नै छ।

सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले प्रष्ट रुपमा दुई तीन कुरा भनेको थिएँ। पहिलो, कुनै हताहती (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् । यसबारेमा सचेत रहनु होला, सावधानी अपनाउनु होला । दोस्रो, समन्वयात्मक रुपमा शान्ति सुरक्षाको उचित प्रवन्ध मिलाउनु होला । तेस्रो, यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्व विहीन हुन सक्छ। प्रदर्शनमा घुसपैठ पनि हुन सक्छ, सतर्कता अपनाउनु होला । मैले बैठकमा दिएको निर्देशनको सार यति मात्रै हो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ