शुक्रबार, ०५ मंसिर २०८२

चुनाव बिथोल्ने दुष्प्रयास तत्काल बन्द गरियोस्


काठमाडाैँ। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले आगामी २१ फागुनमा निर्वाचन गर्ने घोषणा गरेलगत्तै निर्धारित मितिमा चुनाव नहोस् भनेर विभिन्न शक्तिहरु सक्रिय हुन थालेका छन्।

ठूलो दलमध्ये नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापना पहिलो सर्त भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ भने अर्को ठूलो दल नेपाली कांग्रेसले पनि निर्वाचनमा जाने विषयमा प्रष्ट अभिव्यक्ति दिन सकेकाे छैन।

गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि ज्यान जोगाउनका लागि सेनाको हेलिकप्टर चढेर बालुवाटारबाट भागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले निर्वाचन गराउने कुरामा सबैभन्दा धेरै सशंकित छन्। ओलीकै अभिव्यक्तिमा नेपाली कांग्रेसकै आधा बढी नेताहरुले समर्थन गरेका छन्।

जेनजीकै केही अगुवाहरुले पनि ‘निर्वाचन हाम्रो प्राथमिकता होइन’ भन्ने अभिव्यक्ति दिएकाले निर्वाचनका बारेमा आशंका व्यक्त गर्नेहरुलाई थप सजिलो बनाइदिएको मात्रै छैन। संक्रमण लम्बियोस्, कलह कायम रहोस् भन्नेहरु खुसी नहुने कुरै भएन।

लोकतन्त्रलाई संस्थागत गर्ने विषयमा कुनै पनि दलका कुनै पनि नेताहरुले अभिव्यक्ति दिन थाले भने घन्टौँ दिन सक्छन् तर, तीनै व्यक्तिहरुले लोकतन्त्रलाई संस्थागत गर्ने प्रयत्न भने कहिल्यै गरेनन्। भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दलहरुको सिद्धान्त र व्यवहार नमिल्दाको परिणाम हो।

कुनै पनि मुलुकको लोकतन्त्र त्यतिबेला समुन्नत बाटोमा अघि बढ्छ, जहाँ निर्वाचित जनप्रतिनिधिले जनजाहनाअनुसार सत्ता सञ्चालन गर्नेछन्। त्यसका लागि हुनुपर्ने निर्वाचन नै हो। निर्वाचन कसको नेतृत्वमा हुन्छ भन्ने ठूलो कुरा होइन। कसरी हुन्छ सबैभन्दा महत्वपूर्ण त्यो हो।

सरकारको दाबीलाई मान्ने हो भने सरकार स्वच्छ निर्वाचनका लागि तम्तयार छ। निर्वाचन आयोगले पनि भयरहित निर्वाचन गर्ने प्रतिबद्धता पटक पटक दोहोर्याएकाले धेरै शंका गरिरहनु जरुरी छैन।

जेनजी वा राजनीतिक दलका नाममा हुन थालेका अराजनीतिक गतिविधिले निर्वाचन बिथोलिने संकेत देखिएको छ। बुधबार सिमरामा भएको घटना त्यसैको संकेत हो। निर्वाचनलाई प्राथमिकता नदिने र दलहरुले आ–आफ्नै डम्फु बजाइरहने हो भने यस्तै प्रकृतिका अराजनीतिक हर्कतहरु अझै बढ्दै जाने निश्चित छ।

अहिलेको अवस्थामा सरकार वा अन्य कुनै दललाई अभियोग लगाएर कोही चोखिने सम्भावना छैन। आशा गरौँ, विगतका कमी कमजोरीका विषयमा आत्मसमीक्षा गर्दै सबै राजनीतिक दलहरु निर्वाचनका लागि अग्रसर हुनेछन्। कुनै पनि पक्षबाट हुनसक्ने अराजनीतिक हर्कतहरु बन्द गर्ने उपायहरु खोज्नेछन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ