बिहिबार, ०४ वैशाख २०८२

गगन थापाले भनेजस्तै बिचौलियाको प्रभाव प्रधानमन्त्रीको बेडरुमसम्मै हो ?


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै भएको टिप्पणी गरेपछि सत्ता साझेदार पार्टीका नेतृत्वमै चिसोपना बढेको संकेत देखिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको नेतृत्वमा सरकार बनेमा माओवादी सहयोग गर्न तयार छ भनेर अभिव्यक्ति दिएको तीन दिनपछि कांग्रेस महामन्त्रीको यो अभिव्यक्ति आउनुलाई सामान्य ढंगले हेर्न नहुने राजनीतिक विश्लेषकको बुझाई छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पटक पटक दोहोर्याउँदै आएको ‘चुनावसम्म सरकार ढुक्कले चल्छ’ भन्ने भनाइलाई पनि महामन्त्रीको यो भनाइले खण्डन गरेको छ । किनकी महामन्त्री थापाले प्रधानमन्त्री ओलीका बारेमा यस किसिमको खरो टिप्पणी गरेको गठबन्धन सरकार बनेपछि पहिलो हो ।

‘सरकारले विकास निर्माणको काममा गति लिएन, जनआकंक्षा अनुरुप काम गरेन, सुशासन कमजोर भयो’लगायतका धेरै विषयमा सरकारको आलोचना गरे ।

नेपाल राष्ट्र बैंकको गभर्नर कसलाई बनाउने भन्ने विषय सडकमा हल्ला चलेको ‘बिचौलियको मान्छे’ भन्ने भाष्यलाई पनि महामन्त्री थापाले पुष्टि गर्ने खालको अभिव्यक्ति दिएका छन् ।

देउवा र ओलीको भद्र सहमतिमा राष्ट्र बैंकको गभर्नर कांग्रेस र प्रमुख निर्वाचन आयुक्त एमालेले लिने सहमति भएको छ । एमाले स्रोतका अनुसारका तैपनि देउवालाई फकाउन सकिन्छ कि भनेर ओलीले विभिन्न शक्ति केन्द्र परिचालन गरेका छन्, ताकि राष्ट्र बैंकको गभर्नरमा आफ्नो मान्छे नियुक्त गर्न सकियोस् ।

गभर्नर बिदा हुनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गर्ने परम्परा भए पनि अहिलेसम्म नियुक्त नहुनुको मुलका कारण नै कांग्रेस–एमालेबीच भागबण्डा नमिलेर हो । ओली र देउवा एकले अर्कालाई फकाउने क्रममा बिचौलियाले सुत्राधारको भुमिका निर्वाह गरेको खबर सार्वजनिक भएपछि सत्ताधारी दलका नेताहरुबीच नै समस्या हुन पुगेको छ ।

मंगलबार कांग्रेस महामन्त्री थापाको असन्तुष्टि पनि त्यही नै हो । उनले कार्यक्रममा भने, ‘पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि । गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि ? भन्नेकुरा हुन्थ्यो । अब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुन थाल्यो ।’

सरकार अहिले वास्तवमै संकटमा छ । शिक्षकहरुले आफ्ना माग पूरा गर्न दबाब दिँदै सरकारविरुद्ध प्रदर्शन गरेकाे दुई साता पुग्न लाग्याे । निजामती कर्मचारी ‘आन्दाेलनकाे तयारीमा छाैँ’ भन्दै सरकारलाई धम्क्याइरहेकाे छ ।

यही बिचमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले प्रधानमन्त्रीले अनावश्यक हस्तक्षेप गरेकाे भन्दै राजीनामा दिए । मेरिटकाे आधारमा नियुक्त उपकुलपतिकाे यस किसिमकाे अभिव्यक्तिले प्रधानमन्त्री वास्तवमै बिचाैलियाकै प्रभावमा परेका हुन् कि भनेर आशंका गर्ने अवस्था भने पक्कै सिर्जना भएकाे छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ