सोमबार, ०८ पुस २०८१

अन्य मुलकमा भन्दा नेपालमा प्रेस स्वतन्त्रता बलियो छ : मन्त्री गुरुङ


काठमाडौँ, १३ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताएका छन्  । 

राष्ट्रिय समाचार समिति (रासस)सँग विहीबार गरिएको कुराकानीमा मन्त्री गुरुङले अन्तर्राष्ट्रिय समाचार माध्यमको अवस्था दर्शाउँदै बहुलवादी खुला समाज अङ्गीकार गरेको नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बलियो रहेको धारणा राखे । “सार्क क्षेत्रमै हेर्ने हो भने हाम्रो देशको प्रेस निकै लोकतान्त्रिक र खुला छ”, उनले भने “प्रेसको यो गरिमा जोगाई राख्न मर्यादित र व्यवस्थित नीति ल्याउन आवश्यक छ ।” 

सिङ्गापुर र मलेसियाजस्ता विकसित मुलुकमा समेत सीमित सञ्चारमाध्यम सञ्चालित रहेको उल्लेख गर्दै मन्त्री गुरुङले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मर्यादित र व्यवस्थित बनाउन सरकारले गृहकार्य सुरु गरेको जानकारी दिए । यसैअनुरुप यही भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्धित ‘टिकटक प्लेटफर्म’ खुला गर्ने निर्णय गरेको उनको भनाइ थियो । सामाजिक सञ्जाल पछिल्लो समय युवाको रोजगारको केन्द्र बनेकाले प्रतिबन्ध लगाउनु उचित नरहेको मन्त्री गुरुङले बताए । यद्यपि आवश्यक नियमन भने जरुरी रहेकाले निश्चित सर्त पूरा गरेर मात्रै ‘टिकटक’ सञ्चालन गर्न पाउने निर्णय गरिएको उनको भनाइ थियो । 

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० को दफा ३ मा उल्लेख गरिएको टिकटक प्रयोगकर्ता वा कम्पनीले दर्ता गर्नुपर्ने, दफा ६ अनुुसार प्रयोगकर्ताको प्वाइन्ट अफ कन्ट्याक (सम्पर्क केन्द्र) तोक्नुपर्नेलगायत सर्त पालना गर्नुपर्छ । मन्त्री गुरुङले टिकटकलगायत सामाजिक सञ्जाल सञ्चालकहरु नेपालको  पर्यटन प्रवद्र्धन’, ‘डिजिटल सेक्युरिट’, ‘डिजिटल लिट्रेसी’, ‘पब्लिक एजुकेसन’का लागि सहयोग गर्न सहमत भएको जानकारी दिए ।  

“सामाजिक  सञ्जालमार्फत सामाजिक दूरभावना फैल्याउने, अश्लील, अमर्यादित खालका विषयभित्र रहेका शब्द, वाक्यको अङ्ग्रेजी, नेपालीसहित देशभित्र बोलिने अन्य भाषाहरुमा समेत ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्नुपर्छ भनेका छाँ, त्यसलाई उनीहरुले स्वीकार गरेका छन्”, उनले भने “यसले झन्डै हजारौं युवाले रोजगार पाउँछन् भने सामाजिक सञ्जाल व्यवस्थित बन्न सघाउँछ ।” 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ