- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद्को विपक्षी दल समग्र राज्य र प्रणालीको नभई सरकारको मात्र प्रतिपक्ष भएकाले त्यस अनुसारको भूमिका निर्वाह गर्न प्रमुख प्रतिपक्षसहितका दललाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा भाग लिँदै सांसद थापाले प्रमुख प्रतिपक्षलाई उत्तेजना र आवेगमा नभई संयमितरुपमा अभिव्यक्ति दिन र राजनीति गर्न आग्रह गरे । ‘लोकतान्त्रिक प्रणालीमा यो व्यवस्थालाई सार्थक बनाउने हो भने प्रभावकारी प्रतिपक्ष अनिवार्य सर्त हो । सरकारले गरेका काम र दिएका अभिव्यक्तिको खण्डन गर्दा गालीका आधारमा नभई तर्कका आधारमा हुनुपर्छ ।’ महामन्त्री थापाले भने ।
विपक्षी दलले जल्दाबल्दा विषय समयभित्रै राख्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले विपक्षी भनेको राज्य र प्रणालीको नभई सरकारको मात्र भएको धारणा राखे । ‘लामो अनुभव भएको प्रतिपक्षले त्यो अनुसारको परिपक्व भूमिका निर्वाह गर्नपर्छ, सरकारले पनि त्यसको सम्मान गर्नुपर्छ । उत्तेजनाको राजनीति धेरै लामो टिक्दैन, संयमित हौँ ।’ थापाको भनाई थियो ।
प्रस्तावित भ्रष्टाचारजन्य कसुरसम्बन्धी विधेयकमा थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा दायर गर्नेलगायत विषयमा थुप्रै संशोधन परेकाले अहिले नै को कतातिर भनी हल्का अभिव्यक्ति नदिन सुझाव दिँदै महामन्त्री थापाले नीतिगत निर्णयका नाममा मन्त्रिपरिषद्बाट हुँदै आएका भ्रष्टाचार रोक्न कानुन तर्जुमा र अख्तियारलाई बलियो बनाउन आवश्यक रहेको बताए ।
उहाँले भने ‘मन्त्रिपरिषद्बाट नीतिगतरुपमा निर्णय गर्ने नाममा भ्रष्टाचार हुँदै आएको छ, त्यसलाई रोक्नुपर्छ । अख्यितयारलाई बलियो बनाउनुपर्छ । संवैधानिक अङ्गमा हुने नियुक्तिको मापदण्ड बनाइनुपर्छ ।’
विधेयकमा हदम्यादसम्बन्धी विषयमा प्रमुख प्रतिपक्ष दलका नेताबाट भएको अभिव्यक्ति परिपक्व नभएको टिप्पणी गर्दै महामन्त्री थापाले विधेयकमाथि संशोधन हाल्ने हामी सबै एकै ठाउँमा रहेको प्रतिक्रिया दिए । सानो ठाउँ वा अवसर प्राप्त गर्नासाथ कसरी फाइदा लिन सकिन्छ भन्ने सोच हटाउन आवश्यक रहेको उल्लेख गर्दै उनले सहकारीको रकम हिनामिना प्रकरणमा फैसला आएपछि सवै कुरा स्पष्ट हुने चेतावनी दिए ।
टिप्पणीहरू: