- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार प्रतिगामी भएकाे आराेप लगाएका छन् ।
आइतबार एमाले पार्टी कार्यालयमा छापा माध्यमका पत्रकारहरूको ज्ञापनपत्र बुझ्दै ओलीले नेपालमा विगतमा पनि स्वतन्त्रता र लोकतन्त्रलाई रोक्ने प्रयास भए पनि ती लामो समय टिक्न नसकेको बताए।
उनले राणा शासन र शाही शासनको उदाहरण दिँदै अहिले देखिएका प्रतिगामी कदम पनि स्थायी हुन नसक्ने जिकिर गरे। ‘अबका प्रतिगामी, स्वतन्त्रताविरोधी र संकीर्णतावादी कदमहरू लामो समयका लागि हुनै सक्दैनन्,’ ओलीले भने।
एमाले स्वतन्त्रताका लागि लामो समयदेखि संघर्ष गर्दै आएको पार्टी भएको उल्लेख गर्दै ओलीले स्वतन्त्रताको लडाइँ अझै नसकिएको बताए। उनका अनुसार संघर्षका क्रममा कहिलेकाहीँ गति सुस्त भए पनि अधिनायकवादी प्रवृत्तिविरुद्धको लडाइँ भने जारी रहन्छ।
‘हाम्रो पार्टी स्वतन्त्रताका निम्ति लड्दै आएको हो। हाम्रो संघर्ष कहिलेकाहीँ धिमा गतिमा चलेको होला, एकछिन अधिनायकवादले रोकेको होला। अहिले फेरि रोक्ने कोसिस भइरहेको छ,’ ओलीले भने।
टिप्पणीहरू: