सोमबार, ०८ वैशाख २०८२

आनन्दी सदाय मृत्यु प्रकरण- अझै भेटिएनन् आरोपित


सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुरस्थित फुलबरीया मुसहरी टोलकी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीको छानबिन समितिले विस्तृत अनुसन्धान सुरु गरेको छ । 

गत पुस ९ गते गाउँकै दुई युवक सञ्जिव यादव र श्यामसुन्दर यादवले बलात्कार प्रयाश गरेका थिए । घटना लगत्तै इलाका प्रहरी कार्यालय, महेशपुर पतारीमा जाहेरी दिए पनि प्रहरीले जाहेरी लिन मानेको थिएन । प्रहरी नै पीडकको पक्षमा लागेपछि आनन्दीदेवी तनावमा थिइन् ।

न्याय नपाएपछि वैशाख २ गते सदाय आफ्नै घरमा आनन्दीदेवी  झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्  । उनको मृत्यु भएको घटना सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले घटनाको सुक्ष्म अनुसन्धान गर्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार गत बिहीबार मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो । 

सोही समितिले आइतबार पीडितको घरमा पुगी परिवारका सदस्यसँ सोधपुछ गरेको छ । उक्त घटनामा प्रहरीले कमजोरी गरेको भन्ने विषयमा इलाका प्रहरी कार्यालय, महेशपुर पतारीका प्रहरी कर्मचारीसँग आवश्यक जवाफ लिने काम भएको प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले जानकारी दिए । ‘प्रारम्भिक चरणको काम मात्र भएको छ । हामीले सुक्ष्म अनुसन्धान सुरु गरेका छौँ, विस्तृत कुराहरू विस्तारै खुल्छन् ।’ उनले भने ।

माइतीघरमा बस्दै आएकी २४ वर्षीया सदायलाई स्थानीय २२ वर्षिय सञ्जिव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएको थियो । सोही दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिए पनि आरोपित पक्ष र प्रहरीले पीडितलाई गाउँमै मिल्न दबाब दिएको पीडित पक्षको आरोप छ । पछि जिल्लास्थित मानवअधिकारकर्मीसहितको दबाबमा गत फागुन २५ गते जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको थियो । त्यति बेलासम्म आरोपित फरार भैसकेका थिए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ