सोमबार, ०२ असार २०८२

भारतको अहमदाबादमा २४२ जना यात्रु बाेकेकाे एयर इण्डियाको विमान दुर्घटनाग्रस्त


गुजरात। गुजरातको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ।

अहमदाबाद जोन–४ का डीसीपी कानन देसाईले उक्त क्षेत्रमा विमान दुर्घटना भएको पुष्टि गरे। अहिले दुर्घटनास्थलमा दमकल र गाडीहरु पुगेका छन्। अहमदाबाद विमानस्थल टर्मिनल–१ का प्रबन्धकले बीबीसी हिन्दीलाई बताएअनुसार विमानस्थल क्षेत्र बाहिर धुवाँ देखिएको थियो, त्यसपछि सम्पूर्ण टोलीलाई अनुसन्धानको लागि घटनास्थल पठाइएको थियो।

यद्यपि, बाहिर खिचिएका तस्बिरहरूमा धुवाँको मुस्लो देख्न सकिन्छ।

अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले समाचार एजेन्सी पीटीआईलाई भने, “विमानस्थल नजिकै मेघनानगर क्षेत्रमा एउटा विमान दुर्घटनाग्रस्त भएको छ। त्यो कुन विमान थियो भन्ने अझै स्पष्ट छैन।’

अग्नि नियन्त्रक जयेश खारियाले भने, “विमान दुर्घटनाग्रस्त भएपछि आगो लागेको थियो। आगो निभाउन दमकलका गाडीहरू पठाइएको छ।’
एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, “अहमदाबाद–लन्डन ग्याटविक उडान गर्ने उडान नम्बर एआई १७१ आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ।’

एयरलाइन्सले थप जानकारी सङ्कलन गरिरहेको र सकेसम्म चाँडो थप अपडेटहरू सार्वजनिक गर्ने बताएको छ। 

भारतीय मिडिया आजतकले भने विमानमा चालक दलका १२ सदस्यसहित २४२ जना यात्रु रहेकाे जनाएकाे छ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ