बिहिबार, १८ भदौ २०८३

बाढीग्रस्त क्षेत्रबाट फर्किएपछि गगनले भने -अब पनि गल्ती ढाकछोप गरेर बस्ने समय होइन


काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता गगनकुमार थापाले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि सरकारको विपद् व्यवस्थापन शैलीप्रति गम्भीर प्रश्न उठाएका छन्।

नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्र पुगेर फर्किएका थापाले विपद्को वास्तविक अवस्था अत्यन्तै भयावह रहेको भन्दै सरकारको सम्पूर्ण ध्यान तत्काल उद्धार, खोजी र राहतमा केन्द्रित हुनुपर्ने बताएका हुन्। स्थलगत निरीक्षणका क्रममा प्रभावित नागरिकले बेपत्ता आफन्तको खोजी तथा उद्धारमा ढिलाइ भएको गुनासो गरेको विवरण सार्वजनिक भएको छ।

थापाले विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारमा राज्यले उपलब्ध सबै उपाय प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्। नेपाली जनशक्ति र प्रविधिबाट मात्रै सम्भव नभए विदेशी विशेषज्ञ तथा सहयोग लिनसमेत सरकार हिच्किचाउन नहुने उनको धारणा छ।

‘अब गल्ती ढाकछोप गर्ने होइन, मान्छे बचाउने समय हो’

थापाको अभिव्यक्तिको राजनीतिक अर्थ भने अझ गहिरो देखिन्छ। उनले विपद्का बेला सरकारको कमजोरीमाथि आरोप–प्रत्यारोप गर्नुभन्दा पहिले नागरिकको जीवन जोगाउनुपर्ने बताए पनि उनको भनाइले राज्यको तयारी, उद्धार क्षमतामाथि र निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ।

उनको सन्देशको सार स्पष्ट छ—विपद् व्यवस्थापनमा कहाँ चुकियो भन्ने समीक्षा पछि गरौँला, अहिले बाँकी नागरिकको जीवन बचाउन राज्यको सम्पूर्ण शक्ति परिचालन गरौँ।

रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा पुग्दा आफूले नागरिकको पीडा प्रत्यक्ष देखेको भन्दै थापाले विपद्को वास्तविक गम्भीरता काठमाडौँमा बसेर अनुमान गर्न नसकिने बताएका छन्।

 ‘विदेशी सहयोग लिन ढिला नगर’

सुरुङमा फसेका नागरिकको उद्धार सबैभन्दा ठूलो चुनौती बनेपछि थापाले अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई दबाब दिएका छन्। उद्धारका लागि आवश्यक प्रविधि, उपकरण र विशेषज्ञता नेपालसँग पर्याप्त नभए बाह्य सहयोग लिनुपर्ने उनको भनाइ छ।

यसअघि पनि थापाले विपद्को अवस्थामा राज्यका सबै संयन्त्र परिचालन गर्दै उद्धार तथा राहतमा केन्द्रित हुन सरकारलाई आग्रह गरेका थिए। उनले स्थानीय सरकारलाई सक्रिय बनाउनुपर्ने र राहत तथा सहयोगलाई प्रभावकारी बनाउन समन्वय आवश्यक रहेको बताएका थिए।

स्थलगत निरीक्षणपछि कांग्रेसको भूमिका पनि बदलिँदै

थापाको बाढी प्रभावित क्षेत्रको भ्रमणलाई कांग्रेसले प्रमुख प्रतिपक्षीका रूपमा सरकारमाथि दबाब बढाउने रणनीतिक कदमका रूपमा समेत हेरिएको छ।

विपद्का बेला सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको कांग्रेसले अब उद्धार तथा राहतको प्रभावकारिता, बेपत्ता नागरिकको खोजी, सुरुङमा फसेकाको उद्धार र प्रभावित परिवारको पुनःस्थापनामा सरकारलाई जवाफदेही बनाउने संकेत गरेको छ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ