बिहिबार, ०४ वैशाख २०८२

समग्र शिक्षा क्षेत्रको समस्या हल हुने गरी ऐन जारी हुनुपर्छ : नेसपा


काठमाडाैं। सरकारी विद्यालयका शिक्षकहरूको पेशागत हक हित र अधिकारलाई सम्बोधन गर्न गरी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राखेर नेपाल शिक्षक महासंघको नेतृत्वमा चलिरहेको काठमाण्डौ केन्द्रित आन्दोलनप्रति नेपाल समाजवादी पार्टी (नयाँशक्ति)ले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । 

उक्त आन्दोलनका कारण मुलुकका करिव ३५ हज़ार सार्वजनिक विद्यालय,४ लाख शिक्षक र ७० लाख विद्यार्थीहरु प्रभावित भएकाे भन्दै शिक्षक कर्मचारीहरूको मागलाई यथोचित ढंगले सम्बोधन गर्न सरकार उदासिन हूनु विडम्बनायुक्त भएकाे बताएकाे छ ।

राजनैतिक दलहरूको आफू सरकारमा हुदा यस समस्या समाधानमा ध्यान नदिने तर प्रतिपक्षी हुँदा मात्रै समस्या देखाएर आन्दोलनलाई उचाल्ने भूमिका गैरजिम्मेवारीपनाको पराकाष्ठा भएकाे बताएकाे छ ।

शिक्षा क्षेत्रमा गुणात्मक सुधार सहित पुन संरचना आजको आवश्यकता हो भन्दै उक्ता पार्टीले संविधानतः आम नागरिकले शिक्षा प्राप्त गर्न पाउने अधिकार सुनिश्चित भएपनि संघिय संरचना वमोजिम आवश्यक कानुनी र नीतिगत संरचना निर्माण हुन नसकेकाे जनाएकाे छ ।

नेपाल शिक्षक महासंघ र नेपाल सरकार विच बिगतमा भएका ५ बुँदे र ६ बुँदे सहमति अनुरूप तर्जुमा भएको विधेयकलाई महत्व दिएर यथाशीघ्र पारित गर्न  नेसपाले जोडदार माग गरेकाे छ  ।

गरिव र धनी वर्गका लागि दुईखाले शिक्षा प्रणालीको अन्त्य गरिनुपर्छ भन्दै नेसपाले सम्पूर्ण बालबालिकाहरूले शिक्षामा समान अवसर नपाएसम्म भविष्यमा समान प्रतिस्पर्धा गर्न नसक्ने धारणा राखेकाे छ ।

'शिक्षा आम नागरिकको पहुँचमा हुनेगरी गुणस्तरिय तथा पुर्ण निःशुल्क हुनुपर्छ । शिक्षालयहरूमा भएको प्रत्यक्ष दलीय प्रभावलाई निषेध गरिनुपर्छ । शिक्षालाई व्यापारको वस्तु बनाइनु हुँदैन', विज्ञप्तिमा भनिएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ