- असार ०७, २०८०
काठमाडौं। हिमताल फुटेर आएकाे बाढी/पहिरोबाट प्रभावित हुम्लाकाे नाम्खा गाउँपालिका-६, तिलगाउँमा राहत सामग्री पठाइएकाे छ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला विपद् व्यवस्थापन ब्यवस्थापन समितिबाट चामललगायतका राहत सामग्रीहरु पठाइएकाे जानकारी दिए।
उनका अनुसार १० क्वीन्टल चामल, १०० लिटर तिल, दुई क्वीन्टल नुन, दुई क्वीन्टल नै चिनी, ३० क्वीन्टल मैदा, १/१ क्वीन्टल भुजा, चिउरा, १० पाेकेट चिया पठाइएकाे छ।
यस्तै आलु, सागसब्जी, साबुनदेखि औषधीहरु पठाइएको उनले बताए।
चारवटा त्रिपाल र १० बाेरा सिमेन्ट पनि पठाइएको छ। 'सिमीकाेटबाट हामीले गाडीमा सामान पठाएकाे हाे, सामान पुगिसकेकाे छ', उनले भने।
तिलगाउँमा बाढी/ पहिराका कारण १८ वटा घरधुरी प्रभावित छन्। गाउँ नजिक पहिराे पुग्दा बस्ती नै जाेखिममा परेकाले तिलगाउँवासी खाेलापारी फाँटमा बसिरहेका छन्।
बाढी/पहिराेले बिजुली बत्ती, खानेपानी, सिँचाइ, पुलपुलेसा लगायत सार्वजनिक पूर्वाधारमा क्षति भएकाे थियाे । राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले राहत सामग्रीका साथै विज्ञकाे टाेली हुम्ला पठाइएकाे बताए।
उनका अनुसार घटनाकाे अध्ययनका लागि वरिष्ठ डिभिजन इन्जिनियर सुशील कुमार श्रेष्ठ, भूगर्भविद् शिव प्रसाद बास्ताेला, माैसमविद् साैहाद्र जाेशीसहित विपद् प्राधिकरणकाे टाेली हुम्ला पठाइएकाे छ।
टिप्पणीहरू: