बुधबार, ०५ कात्तिक २०८२

एउटा क्रुर शासक: फेरि भन्दैछन् म सज्जन छु


काठमाडाैँ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट सत्ताको कुर्सीबाट गलहत्याइएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालको भातृसंस्था प्रेस चौतारीका पदाधिकारीको बीचमा बसेर भने ‘मैले भ्रष्टाचार नगर्नु नै मेरो अपराध भयो।’

एमाले अध्यक्षसमेत रहेका ओलीले केही वर्षदेखि भन्दै आएका छन्, ‘म आफू पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ।’ कसैसँग दुई/चार करोड लिएर कुनै संस्थाको अध्यक्ष वा जिएम बनाउनु, केही करोडमा डिल गरेर कसैलाई राजदूत वा समानुपातिक सांसद नियुक्त दिनु वा कुनै व्यापारीको आर्थिक प्रलोभनमा परेर कुनै व्यापारिक प्रतिष्ठानलाई सरकारी जग्गा जिम्मा लगाउनु ओलीलाई भ्रष्टाचार हो भन्ने लाग्दैन। किनकी यस किसिमका ‘जघन्य अपराध’ गरेवापत कुनै राजनीतिक दलका नेता एवं कार्यकर्तामाथि कारबाही भएको छैन।

नक्कली भुटानी शरणार्थी प्रकरण, इँट्टाभट्टामा जिउँदै मान्छे जलाएका घटनामा संलग्नहरुलाई पनि राजनीतिक दलका नेताका आग्रहमा अदालतमार्फत चोख्याउने प्रवृत्ति कायम रहेकाले केपी ओलीहरुलाई अझै लागिरहेको छ, ‘हामीले सबै किसिमका अपराध गर्ने छुट पाउनुपर्छ।’

यति, ओम्नी, गिरिबन्धु ओलीकै पालामा घटेका काण्डहरु हुन्। उनको तजबिजीमा भएका यी र यस्तै अन्य काण्डहरुलाई प्रश्न गर्न मनाही छ। यस्ता विषयमा प्रश्न गर्नेहरुलाई उनी राष्ट्रघाती करार गर्छन्। पार्टीकै जिम्मेवारीमा रहेका कसैले प्रश्न गरे भने उनी कारबाहीको डण्डा वर्षाउन उर्दी जारी गर्छन्।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग पार्टीका लागि घरसहित जग्गा दान ग्रहण गरेको प्रसंगमा प्रश्न गर्ने स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरे। ओलीसँग गरेको अप्राकृतिक सम्झौताको अभियोग अहिले मीनबहादुर एक्लैले भोग्दैछन्। हरेक आन्दोलनमा भाटभटेनीमा आक्रमण हुनुको कारण केबल मीनबहादुर आर्थिक रुपमा वैभवशाली भए भनेर मात्रै होइन। ओलीसँग अप्राकृतिक सम्बन्ध गाँसेकै कारण हो।

राष्ट्रका लागि सुविधा सम्पन्न अस्पतालसमेत बनाइदिएका मीनबहादुरलाई राष्ट्रप्रेमी हुन् भन्नेहरु धेरै छन्। उनी मुलुकका एउटा उम्दा उद्यमी हुन्, धेरैलाई रोजगार दिएका पनि छन्। तर, एउटा निश्चित पार्टीका लागि अर्बौंको रिसवत टक्र्याएको घटनाले भने उद्यमी चरित्रका विषयमा प्रश्नहरु पनि उत्तिकै तेर्सिएका छन्।

ओलीले राज्य सञ्चालन गर्दा उनकै निर्देशन वा उनका छेउछाउमा बस्नेहरुको आडमा राज्यको सम्पत्ति कति दोहान भयो भन्ने कुरा उच्चस्तरिय आयोगले राम्ररी छानबिन गर्यो भने कुनै दिन सार्वजनिक होला। तर, सरकारको विरोध गरेकै कारण दुई घन्टाको बीचमा १९ जना किशोरलाई गोलीले भुटेर मारिएको नेपालको इतिहासमा पहिलो घटना हो। ओली वा ओलीको छेउछाउमा बस्ने एमाले कार्यकर्ताले जुनसुकै दाबी गरुन्, २३ गतेको घटना एउटा संगीन आपराधिक घटना हो। यसको नैतिक जिम्मेवारी ओलीले लिनुपर्छ र कारबाही पनि हुनुपर्छ।

२३ गते जुन नरसंहार भयो, एउटा मानव हृदय भएका व्यक्तिका लागि कति पनि सैह्य हुँदैन। ओलीले दाबी गरेजस्तै उनी एमाले कार्यकर्ताले भनेजस्तो ‘बा’ थिए भने गोली लागेर ती किशोरकिशोरीको मृत्युको घटनाले उनको मन भारी हुनुपर्थ्याे तर, छैन। उनको दम्भ रत्तिभर घटेको छैन।

उनी कति क्रुर छन् भन्नका लागि गोदावरीमा भएको ‘हिट एण्ड रन’ घटना अर्को उदाहरण हो। नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीले सडकमा बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दियो। बालिकालाई ठक्कर दिएपछि सामान्य उद्दारसमेत नगरी मन्त्री अधिवेशन स्थल पुगे। घटनाबारे जानकारी पाएलगत्तै ओलीले भने, ‘घटना सामान्य हो, राजनीतिकरण नगरौं।’ कानुन त यदि कुनै सर्वसाधारण नागरिकको गाडीले त्यसरी कसैलाई ठक्कर दिएर हिँडेको भए ठक्कर दिने व्यक्ति आजका मितिसम्म प्रहरी कष्टडीमै हुन्थे तर, राना एमाले भएकै कारण अहिले पनि आदर्शका पाठ पढाइरहेका छन्।

एमालेमा नेतृत्व परिवर्त हुनुपर्छ भनेर आवाज उठाउँदै आएकाहरुको स्वर जेनजी आन्दोलनपछि अलि ठूलो हुन थालेको छ। शायद महाधिवेशनसम्म पुग्दा अझै ठूलो हुन पनि सक्छ। तर, एमालेमा अझै पनि ७० प्रतिशत कार्यकर्ता अचेत भएकाले उनीहरुलाई लाज लाग्दैन। ‘जनबोलीलाई, साथ छ ओलीलाई...’ भन्दै टिकटक बनाउनेहरु बाँकी नै छन्। एमाले कार्यकर्ताहरुले फेरि पनि ओलीलाई नै अध्यक्ष बनाए भने कुनै आश्चर्य हुने छैन। त्यसपछिका दिनमा भने एमाले पार्टी खोज्नका लागि दिउँसै लाइट बालेर हिँड्न नपर्ला भन्न सकिन्न।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ